६ असार । जिल्लाको व्यास नगरपालिका–१० मा नमुना सहरको परिकल्पना सहित वैरेनी जग्गा विकास आयोजना कार्यक्रम संचालन भइरहेको छ । आयोजनाको पहिलो चरणको अन्तिम अवस्थामा पुगेसँगै दोस्रो चरणको बृहत्तर विस्तार प्रक्रिया अघि बढाइएको छ ।
साविक फराकचौर क्षेत्रका एक हजार तीन सय ६० रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीहरूको राय–सुझाव र सहमति संकलन कार्य सुरु गरिरहेको छ ।
नगरपालिकाले दीर्घकालीन, योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढाएको आयोजना प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलले बताउनुभयो ।
उहाँले भन्नुभयो “बस्तीले साँघुरिँदै गएको सदरमुकाम दमौलीलाई व्यवस्थित शहरी स्वरूपमा रूपान्तरण गर्ने र भविष्यको नमुना सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काम अघि बढाइएको हो ।”
सुरुवाती चरणमा केही चुनौती खेप्नु परेपनि अहिले आयोजना जनस्तरमै स्वीकृत भइसकेको छ,उहाँले भन्नुभयो “आधुनिक सहरको स्वरूप देखिन थालेपछि स्थानीय उत्साह थपिएको छ र दोस्रो चरणको माग पनि बढेको छ ।”
नगर प्रमुख वैकुण्ठ न्यौपानेले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारका रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम दमौली आसपासको अव्यवस्थित शहरीकरणलाई नियन्त्रण गर्दै योजनाबद्ध, सुरक्षित र आधुनिक सहर निर्माण गर्ने हाम्रो स्पष्ट लक्ष्य हो ।” पहिलो चरणको प्रगतिले जनविश्वास बढाएको छ, त्यसैको आधारमा दोस्रो चरणलाई अघि बढाइएको न्यौपाने बताउनभयो ।
दोस्रो चरणको प्रक्रिया स्थानीय बृहत्तर वैरेनी एकीकृत जग्गा विकास परियोजना समितिको माग तथा शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा अघि बढाइएको हो । प्रारम्भिक अध्ययन अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रा।लि।ले सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आयोजना सञ्चालनका सम्बन्धमा कुनै असहमति वा सुझाव भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाधनी प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित लिखित निवेदन पेस गर्न सार्वजनिक आह्वान गरेको छ ।
तोकिएको अवधिभित्र कुनै असहमति नपरेमा आयोजनामा सम्बन्धित पक्षको स्वतः सहमति रहेको मानिने नगरपालिकाले स्पष्ट पारेको छ ।
पहिलो चरणको आयोजनाको हालसम्म ८५ प्रतिशत सम्पन्न भइसकेको छ । पहिलो चरणको प्रगति र पूर्वाधार विकासपछि स्थानीय जग्गाधनीहरू दोस्रो चरणको आयोजनाप्रति थप उत्साहित देखिएका छन् ।
रु।९ करोड २४ लाख ७० हजार रुपैयाँ लागतमा पहिलो चरणको काम सञ्चालन भइरहेको यस आयोजनामा नगर विकास कोषको ७० प्रतिशत ऋण तथा गण्डकी प्रदेश र व्यास नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ ।
पहिलो चरणअन्तर्गत सडक सञ्जाल, टेवा पर्खाल र ढल निकासको अधिकांश काम सम्पन्न भइसकेको छ भने खानेपानी लाइन विस्तार र ढल नालाको कभर स्ल्याब निर्माण अन्तिम चरणमा पुगेको छ ।
साभारः जनचाहना












