३ असार, तनहुँ। व्यास नगरपालिका–९ को गजुरेमा नवनिर्मित स्वास्थ्य चौकीसँगै प्रयोगशाला (ल्याब) सेवा पनि सञ्चालनमा आएको छ। स्वास्थ्य चौकीको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभएको हो भने सोही परिसरमा स्थापना गरिएको ल्याब सेवाको उद्घाटन वडा नं. ९ का अध्यक्ष सुरेश थापाले गर्नुभयो।

उद्घाटन समारोहमा नगरप्रमुख न्यौपानेले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले त्यसलाई सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने दिशामा नगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले गजुरे स्वास्थ्य चौकी सञ्चालनमा आएपछि विशेषगरी वडा नं. ७, ९ र १० का बासिन्दाले आफ्नै नजिकबाट स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले स्वास्थ्य चौकी स्थापना प्रक्रियासँग जोडिएको प्रसंग सुनाउँदै योजना आयोगमा रहँदा उक्त योजना समावेश गरिएको स्मरण गर्नुभयो। उहाँले स्थानीय रूपमा “गजौडे” भनिए पनि सरकारी अभिलेखमा “गजुरे” नाम कायम भएकाले सोही नाम आधिकारिक रूपमा प्रयोग भएको जानकारी दिनुभयो।

गण्डकी प्रदेश सभाकी पूर्व सदस्य सरिता गुरुङले व्यास नगरपालिकाले स्वास्थ्य पूर्वाधार विस्तारमा उल्लेखनीय काम गरिरहेको उल्लेख गर्दै स्वास्थ्य चौकी सञ्चालनले स्थानीय नागरिकलाई गुणस्तरीय सेवा प्राप्त गर्न थप सहज हुने बताउनुभयो।

समारोहमा कलेस्ती उपत्यका महिला विकास समाजकी अध्यक्ष रामप्यारी आले, संगम युवा क्लबका अध्यक्ष नरबहादुर गुरुङ, स्वास्थ्य चौकी प्रमुख सुनिल चन, जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङ तथा अन्य स्थानीय प्रतिनिधिहरूले स्वास्थ्य चौकी सञ्चालनले स्थानीयको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

स्वास्थ्य चौकी करिब १ करोड ७६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो।

यसैबीच, स्वास्थ्य चौकीमा स्थापना गरिएको नयाँ ल्याब सेवाका लागि व्यास नगरपालिकाले आवश्यक उपकरण तथा परीक्षण सामग्री खरिद गर्न ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। वडा अध्यक्ष सुरेश थापाले ल्याब सेवा सञ्चालनसँगै वडा नं. ७, ९, १० तथा आसपासका बासिन्दाले सामान्य प्रयोगशाला परीक्षणका लागि टाढा जानुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो। अब स्थानीयले आफ्नै स्वास्थ्य चौकीबाट छिटो, सहज र किफायती रूपमा ल्याब सेवा प्राप्त गर्न सक्नेछन्।