पोखरा, असार । अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर पोखरामा प्रवचन कार्यक्रम आयोजना गरिएको छ । उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा शनिवार पोखरा रानीपौवास्थित मनमन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिएको छ ।

उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा योगमय जीवन सुखको आधार विषयमा प्रवचन दिइएको थियो । कार्यक्रमका अध्यक्ष कपिलनाथ कोइराला र प्रमूख वक्ता राजयोग प्रशिक्षक व्रह्मकुमारी सुधाले संयुक्त रुपमा पानसमा दियो बालेर कार्यक्रमको उद्दघाटन गरेका थिए ।

सो अवसरमा प्रमूख वक्ता राजयोग प्रशिक्षक व्रह्मकुमारी सुधाले भौतिक दृष्टिबाट हेर्दा हरेक व्यक्ति योगी देखिने गरेको बताइन् । व्यक्तिको व्यक्तिसँग वा वस्तुसँग योग रहने उनको भनाइ छ । मन, वुद्धि र विचारलाई अनुशाशित बनाउने कार्य योगले गर्ने उनले बताइन् ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले स्वस्थ्य खानेकुरा जस्तै शारीरिक र मानसिकरुपमा पनि उपभोक्ता स्वस्थ्य रहन आवश्यक रहेको बताए । उपभोक्तामाझ जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनको भनाइ थियो ।

पातन्जली योग समितिकी केन्द्रिीय उपाध्यक्ष तथा गण्डकी इन्चार्ज कमला गुरुङले योगको महत्व बारे प्रकाश पारेकी थिइन । आहार, निन्द्रा र व्रह्मचर्यको पालन गरेर योग गर्दा बढी फलदायी हुने बताइन । उनका अनुसार योग गर्नु प्रर्दशन भन्दा पनि स्वदर्शन गर्नु हो ।

कार्यक्रममा योगसाधक तथा पत्रकार रविन्द्र माकाजूले मान्छेमा पञ्चतत्व हुन्छ भन्ने कुरा बिर्सदा धेरै समस्या उपत्पन्न भएको बताए । व्यक्तिले आफूलाई कमजोर ठान्दा उसले अरुको हित गर्न पनि नसक्ने उनको भनाइ थियो ।

उपभोक्ता मञ्च गण्डकी प्रदेशकी कोषाध्यक्ष अधिवक्ता मिनाकुमारी रानाभाटले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रमको संचालन उपभोक्ता मञ्च गण्डकी प्रदेशकी सहसचिव अधिवक्ता गीता आचार्यले गरेकी थिइन ।