२८ वैशाख, तनहुँ। म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई चरणमा गरी ९६ जना विपन्न श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत गरेको छ। पहिलो चरणमा ६६ र दोस्रो चरणमा ३० जना श्रमिकलाई कोषमा आबद्ध गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले श्रमिकहरूलाई सूचीकृत प्रमाणपत्र हस्तान्तरण गर्दै विपन्न श्रमिकको आर्थिक सुरक्षा र सामाजिक संरक्षणका लागि कोष सञ्चालन गरिएको बताउनुभयो।
पालिकाको मजदुर सञ्चित कोष सञ्चालन कार्यविधि, २०८१ अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका दैनिक ज्यालादारी गर्ने विपन्न श्रमिकलाई कोषमा समेटिएको हो। श्रमिकको ज्यालाबाट १५ प्रतिशत बचत कट्टा गरिनेछ भने पालिकाले पनि थप १५ प्रतिशत रकम जम्मा गर्ने व्यवस्था गरिएको छ। साथै स्वास्थ्य बीमालगायतका सुविधा पनि उपलब्ध गराइनेछ।
मजदुर सञ्चित कोष कार्यान्वयन गर्ने गण्डकी प्रदेशको दोस्रो र तनहुँको पहिलो स्थानीय तह म्याग्दे गाउँपालिका बनेको छ।












