तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गको छेउबाट भिरमा खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता भएका छन्।बिहीबार (२०८३ मंसिर १२ गते) साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ जाँदै गरेको ना. ४ ख. ५२८५ नम्बरको बसमा सवार चितवनको भरतपुर महानगरपालिका–६, चोकबजार निवासी अंकित गुरुङ भिरबाट खसेर बेपत्ता भएका हुन्।
कक्षा ९ मा अध्ययनरत गुरुङ पारिजात माध्यमिक विद्यालय, भरतपुरको शैक्षिक भ्रमण सकेर फर्किने क्रममा बसबाट ओर्लिएर पिसाब फेर्न सडक छेउतर्फ जाने क्रममा भिरबाट करिब ५०/६० मिटर तल खसेर बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
बेपत्ता विद्यार्थीको खोज तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइएको छ।












