जनताले तिरेको करबाट तलब भत्ता परको कुरा म पानी पनि पिउदिन भन्ने वाचा गरेको छुः हरिबहादुर पाण्डे, भानुका मेयर पदका आकांक्षी ( नेता, नेकपा एमाले)

  • ख-
  • ख+

स्थानिय निर्वाचनको मिति घोषणा पश्चात गाँउघर , टोल , शहर बजार जताततै स्थानिय निर्वाचनको र विभिन्न पार्टीबाट उमेदवारी व्यक्त गर्ने महानुभावहरुको चर्चा छ । तनहूँको भानु नगरपालिकामा पनि अबको निर्वाचनमा कुन पार्टीबाट को होला त उमेदवार भन्ने चर्चा चलिरहदा नेकपा एमालेबाट उमेदवारको आकांक्षीको रुपमा अन्य आकांक्षीहरुसगै हरिबहादुर पाण्डे अगाडि बढ्नुभएको छ ।
सानै उमेरदेखि कम्युनिष्ट राजनीतिमा झुकाव राख्नुभएका पाण्डे आफुसग गरिबहरुले बस्ने भन्ने गरिएको झुप्रो बसेकोदेखि महलमा बसेको अनुभव भएको बताउनुहुन्छ भने आफु मिहिनेत गरेर धनि भएपनि गरिबसग सधै साथ रहेको र गरिबको जिवनस्तर सुधार्न सधै लागेको र लागि पर्ने बताउनुहुन्छ साथै उहाँ आफुले बैदेशिक रोजगार व्यवसायी भएपनि कहिल्यै गलत काम नगरेको र आर्थिकरुपमा सवल भएको कारण मेयरमा विजयी भएपश्चात वैदेशिक रोजगारीको काम छोड्ने, तलब भत्ता नलिने भन्ने त सामान्य कुरा आफु नगरपालिकाको पैसा अर्थात जनताले तिरेको राजश्वबाट पानी पनि नपिउने र आफुले ५ बर्षमा प्राप्त गर्ने सरकारी सुविधा बराबरको रकम सबै विजयी भएकै बर्ष आफ्नो बैक खाताबाट कुनै भानुका जनताले देखिने गरि असल काममा लगाउने बताउनुहुन्छ तिनै हरिबहादुर पाण्डे जो यतिबेला नेकपा एमालेबाट भानु नगपालिकामा नगरप्रमुखको आकांक्षी बन्नुभएको छ उहाँसगको कुराकानी:
प्रश्नः तपाई त भु.पु लाहुरे, हाल वैदेशकि रोजगार व्यवसायी कसरी भानुको मेयर बन्ने ईच्छा जाग्यो ?
उत्तरः म सानो छदा यहि भानुको चोक चिसापानीको रामपुरटारमा बसेको यहि हुर्केको खेलेको यहाँ धनीमानीहरुले गरिबलाई गरेको अत्याचार देखेर म कम्युनिष्टको कार्यकर्ता भएको हुँ । माटोको भित्तो भएको पानी चुहिने घर त्यसलाई झुप्रो भनिन्छ त्यसमा हुर्केको हुँ । गाँउमै रोजगारीको वातावरण त्यति नभएपनि लाहुरे बने अनि आफु आर्थिकरुपमा सवल हुन पुगें । लाहुरे भएतापनि चुनाव भनेपछि छुट्टि मिलाएर आएर पार्टीको काममा दिनरात खटे । रिटायर्ड भएर आएपछि आफुलाई आर्थिकरुपमा अझ सक्षम बनाउन व्यापार व्यवसाय गरेको छु । पार्टीको माया र यो देशलाई बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्दै पार्टीका विभिन्न जनवर्गिय संगठनहरुमा काम गर्दै तन मन र धनले सहयोग गरिरहेको छु । म पार्टीको तनहूँ काठमाण्डौ सम्पर्क समाजको पूर्व अध्यक्ष, बैदेशिक रोजगार संघको पूर्व केन्द्रिय उपाध्यक्ष, बैदेशिक रोजगार प्रगतिशिल मन्चको पूर्व अध्यक्ष, नेकपा एमालेको प्रदेश कमिटिको पुर्व सदस्य र हाल नेकपा एमाले तनहूँको सदस्य भई काम गरिरहेको छु । तपाईले सोध्नुभो नि भानुको मेयर बन्ने चाहना किन लाग्यो भन्दा पछिल्लो कुरा भानुमा मेयरले काम गर्न नै सक्नुभएन नि , यो पाराले त मेरो भानु कहिल्यै बन्दैन अब मेरो गाँउ मेरो ठाँउ मैले बनाउनु पर्छ र बनाउन सक्छु भनेर म अगाडि बढेको हुँ ।
प्रश्नः कस्तो देख्नुहुन्छ भानु नगरपालिको सम्भावना ?
उत्तरः प्रशस्त सम्भावना छ नि हेर्नुस् त भानुमा जस्तो लह लह धान फल्ने फाँट , उव्जनी दिने जमिन तनहूँमा अन्त कहाँ छ ? खोई स्थानिय सरकार प्रमुखले त्यो उपयोग गरेको ? एक दुई खेति लाग्यो १०० मुरी फल्ने ठाँउमा ५० मुरी फलायो सकियो ? २, ४ वटा हाते ट्याकटर बाड्यो यसो मन परेका मान्छेलाई बोका, विउविजन बाड्यो भोट पच्यो ? समग्र भानुलाई तरकारी, आलु, बाख्रापालन, भैसीपालन के मा पकेटक्षेत्र बनाउन सकिन्छ खोई अहिलेका मेयरसाव्ले गर्नुभएको ? दिएका होईनन् र जनताले मौका । आदिकवी भानुभक्तको जन्मस्थललाई जन्मदिनमा सम्झेर, यसो भाषण छाटेर मात्र हुन्छ ? पर्यटकिय सम्भावनाको लागि हाम्रो भानु नेपालका कुन ठाँउभन्दा कम छ के छैन यहाँ ? अग्लो मिर्लुगंकोटदेखि त्यो चुदीको सुन फल्ने फाँट , खोई भिजन, खोई त काम भएको ? म वैदेशिक रोजगार व्यवसायी भएपनि विदेश जानुपर्छ भन्ने मान्यताको विरोधी हुँ , हाम्रा युवाहरुलाई यहि रोजगारी दिने काम के भयो त यो ५ बर्षमा ? मलाई कसैले भनिदिओस् त , हो गाँस बाँस कपास आवश्यकता हो तर भोलिको लागि सोचेर खोई त योजनाहरु ? यहि कुरामा कसैले काम नगरेको देखेर भयो मैले पार्टीमा पछाडि बसेर थुप्रै कामहरु गरे अब आफ्नो भिजन लागु गर्छु मेरो पुख्र्यौली थलो म जन्मेको , हुर्केको लडेको, बढेको ठाँउ बनाउछु , छोराछोरीलाई शिक्षादिक्षा दिएर उम्किए, दुई छाक खान पुग्ने कमाएको छु काठमाण्डौमा भएका दुई चार वटा घरहरु भाँडामा लगाएर नि खाँउला बुढी , भानुलाई बनाउन सबै काम गर्छु मेयर जितेभने तलब भत्ता लिन्न भन्नु त सामान्य भयो म नगरपालिकाको पैसा अर्थात जनताले तिरेको करबाट पानी पनि पिउदिन भन्ने बाचा गरेर आकांक्षी भएको हुँ ।
प्रश्नः चुनाव अगाडि त सबैले मिठो मिठो कुरा गर्छन् अनेक सपना बाड्छन् पार्टीले टिकट दियो भन्ने जित्ने आधार के त तपाईको ?
उत्तरः हुन त मैले भन्दा अलि नपत्याउने कुरा लाग्ला तपाईलाई तै पनि तपाई आफैले भानुका प्रत्येक वडामा गएर सोधिदिनुहोला हरि पाण्डे कस्तो मान्छे हो भनेर । चाहे त्यहाँको युवा क्लबका साथीभाईहरु हुन् , चाहे त्यहाँका आमा समुहहरु हुन् , चाहे बुद्धिजीवि, पढेलेखेका मान्छेहरु हुन् नेकपा एमालेका मात्र होईन अरु पार्टीकालाई पनि सोध्नुस् । मैले जीवनमा आजसम्म कहिल्यै कसैलाई निराश पारेको छैन , दाई वा भाई हामीले यस्तो बिकास निर्माणको काम गर्न लागेको पैसा पुगेन लौन भन्दा ल भन्नु् कति सहयोग गरौ भनेर मन फुकाएर दिएको छु मैले । बाबु आमा समुहले पानीको कुवा मर्मत गर्न लागेको…भन्न नपाईकन मैले भानु मेरो गाँउ , मेरो बाबाको आमाको गाँउ कति दिँउ मैले मन फुकाएर सहयोग गरेको छु । जिउदाँको जन्ति मर्दाको मलामी भनेझैं मैले सके देशभरकै नभएपनि भानुका कोहि कसैले अभावमा जिउन नपरोस् , आर्थिक सहयोग नपाएर आँशु झार्न नपरोस् भनेर मन फुकाएर सहयोग गरेको छु । मेरो बलियो आधार भनेको मैले नेकपा एमाले मात्र होईन अरु पार्टीका सार्थीहरुलाई पनि चित्त दुख्ने काम गरेको छैन । सबैलाई चित्त बुझाएर लान सक्ने भएर नै त म व्यवसायमा पनि सफल भएको हुँ र नगरपालिकामा पनि पुरापुर सफल हुन्छु भन्ने बिश्वास छ । भानुका सबै वडामा बस्ने आदरणिय आमाबुबा, दाजुभाई दिदीबहिनीमा पनि यहि बिश्वास छ कि हरि पाण्डे मेयर भयो भने भानु बनाउछ, कसैलाई काखा पाखा गर्दैन भन्ने विश्वास छ त्यहि विश्वासले म सजिलै विजयी हुनेछु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्