
काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारी माग्दै बुढानीलकण्ठ पुग्ने ११ जना कांग्रेस नेतामध्येका एक पूर्वउपसभापति गोपालमान श्रेष्ठले १५औं महाधिवेशनबाट आफ्नो नेतृत्वको विकल्प नभएको जिकिर गरेका छन् ।
बुढानीलकण्ठ जानुको अन्तर्य, आगामी नेतृत्वको तयारी, देउवापत्नीसमेत रहेकी आरजु राणा देउवाको व्यवस्थापनलगायतको विषयमा केन्द्रित रहेर कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठसँग नेपाल प्रेसकर्मी रमेश पराजुलीले गरेको कुराकानी नेपाल टकमाः
– सभापतिको उत्तराधिकारीको विषयमा चर्चा चलिरहेको बेलामा तपाईंहरू बुढानीलकण्ठ पुग्नुभयो, जानुको अर्थ के थियो ?
सभापतिजीले हामीलाई सम्झिन छाड्नुभयो । उहाँलाई पनि सभापतिले नै गुटको बैठक बोलायो भन्ने पर्छ भएर पनि हुनसक्छ । अनि हामी आफैं सल्लाह गरेर गएका हौं । जानुपर्ने धेरै साथीहरू छुटेका छन् । र, उहाँले राम्रो रेस्पोन्स गर्नुभएको छ । उहाँले म तपाईंहरूसँगै छु, तपाईंहरू एकताबद्ध भएर बस्नुस्, अहिले चुनाव आएको छैन भन्नुभयो ।
हाम्रा साथीहरूलाई कहिले, कसको कहिले कसको टीममा पुग्यो भनेर चर्चा पनि भइरहेको थियो । उहाँहरू आफैं कसैले हो भन्दैन । सभापतिले पनि कहिले कसलाई आशीर्वाद दिए भन्नेसम्मको चर्चा हुन थालेकाले त्यसलाई मेटाउन हामी गएका हौं ।
– तपाईंहरू सामूहिक रुपमा जाँदा उहाँबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
उहाँले तपाईंहरूलाई म बीचैमा छाड्दिनँ, अब तर्फबाट चुनाव लडाउँदा जसरी तपार्इंहरूले मलाई सहयोग गर्नुभएको थियो । म पनि त्यस्तै सहयोग गर्छु, तर अहिले बोल्ने बेला भएको छैन भन्नुभयो ।
– तपाईंहरूले आगामी नेतृत्व हाम्रै टीमबाट हुन्छ भनिरहँदा महामन्त्री गगन थापा सभापतिसँग नजिकिएको विषयमा पनि कुरा उठ्यो कि ?
महामन्त्री र सभापति एक ठाउँमा उभिएर काम गर्नु राम्रो कुरा हो । गगनजी पहिलो महामन्त्री हुनुहुन्छ । अहिले सरकार सञ्चालनको संयन्त्रमा उहाँलाई पनि राखिएको छ । गगनजीले म आफैं पनि उठ्छु भनिराखेकै अवस्था छ । उहाँले उठ्छु भन्ने कुरामा उहाँहरूको टीममा पनि कुरा होला ।
उता शेखरजी पनि उठ्छु भनेर देश दौडाहामा हुनुहुन्छ । उहाँहरूको कुरा उहाँहरूले नै गर्नुहोला, तर हामीहरूबीचमा त्यस्तो कुनै चर्चा परिचर्चा छैन भन्ने हिसाबले हामी गएका हौं । शुक्रबार हामी त्यहाँ गएपछि संस्थापन पक्ष पनि जागरुक हुन थाल्यो भन्ने त पर्यो नि !
– तपाईंहरू हामी एकै ठाउँमा छौं भनेर जानुको अर्थ देउवा नभएपछि संस्थापन पक्ष तितरबितर हुँदैछ भन्ने अर्थ हो ?
यस्तो होइन, दशौंमा गिरिजाबाबुसँग उहाँ लड्दादेखि सहयोग गर्ने हामी एकथरी साथीहरू छौं । ११औं महाधिवेश त मैले नै गराएको हो । म नै कार्यबाहक सभापति थिए । बीचमा पार्टी विभाजन र एकताको स्थिति पनि बनेको थियो, तर अहिले संस्थापन पक्ष तितरबितर भएको छैन । एकै ठाउँमा छौं ।
– देउवा नेतृत्वबाट बाहिरिँदै गर्दा पार्टीको शक्तिशाली पदमा आरजुको व्यवस्थापनको चर्चा पनि छ नि ?
उहाँले आरजु भाउजूको चिन्ता गर्नुपर्ने अवस्था नै छैन । संस्थापन पक्षले उहाँलाई उचित स्थान दिन्छ नै । अहिले उहाँ केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ, अहिले सरकारमा पनि परराष्ट्र मन्त्रालय सम्हालेर पठाइएको छ ।
जुनियरको नेतृत्वमा जाँदा कोही नेताले म स्वीकार गर्दिनँ भनेर विद्रोह गर्नसक्छ, तर मेरो नेतृत्वमा जाँदा त्यो समस्या पनि आउँदैन भन्नेमा म विश्वस्त छु । त्यो कुरा अब शेरबहादुरलाई पनि लाग्नुपर्यो ।
– तपाईं आगामी महाधिवेशनका लागि नेतृत्वको तयारीमा हुनुहन्छ ?
त्यसमा त कुनै शंका नै छैन । सर्वमान्य त मै हुँ नि! सबैले मान्न सक्ने, मेरो नेतृत्वमा भए कसैले हामी जुनियरको मुनि बस्दैनौं भन्न पर्दैन । म त सबैभन्दा सिनियर हो नि !
संस्थापन पक्षमा मात्रै होइन, सिनियरको हिसाबले शेरबहादुरपछि म हुँ । रामचन्द्रजी हुुनुहुन्थ्यो, उहाँ राष्ट्रपति भइहाल्नुभयो । त्यसैले मलाई च्यालेन्ज गर्ने नेता भनेको छैन कांग्रेसभित्रै ।
– भनेपछि संस्थापन पक्षबाट सर्वसम्मत हुन्छु भन्नेमा विश्वस्त हुनुहुन्छ ?
जुनियरको नेतृत्वमा जाँदा कोही नेताले म स्वीकार गर्दिनँ भनेर विद्रोह गर्नसक्छ, तर मेरो नेतृत्वमा जाँदा त्यो समस्या पनि आउँदैन भन्नेमा म विश्वस्त छु । त्यो कुरा अब शेरबहादुरलाई पनि लाग्नुपर्यो ।
साभारः नेपाल प्रेस