रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्ने,शिलालेखमा नाम लेखाउने रहर छ भने म चाँजोपाँजो मिलाउछु निः सांसद श्रेष्ठ

  • ख-
  • ख+

गत संघिय निर्वाचनमा रामचन्द्र पौडेलले सोच्दै नसोचेको नतिजा बेहोर्नुपर्यो, नेकपाका युवा उमेदवार कृष्णकुमार श्रेष्ठ किसानबाट पराजित हुनुपर्यो । नेपाली कांग्रेसको गढ एकाएक कम्युनिष्टहरुको गढ हुनपुग्यो । जब जंगलमा दुईवटा शेरहरु हुन थाल्छ विवाद त हुने नै भयो । प्रजातन्त्र प्राप्ति पश्चात जिल्लामा हालीमुहाली गरेको कांग्रेसलाई कम्युनिष्ट काउसो लाग्ने नै भयो । नेकपाका नेता तथा कार्यकर्ताले पनि प्रत्येक ठाँउमा प्रत्येक, समितिमा आफ्नो सम्मानजनक स्थान त खोज्ने नै भए । जताततै एकछत्र राज गरेको, पकड जमाएको कांग्रेस तिल्मिलाउन थाल्यो । नेकपाको कार्यकर्ताहरुको कांग्रेसको एकलौटीपना चिर्दै भाग खोज्ने चाहना र नेपाली कांग्रेसका कार्यकर्ताले ओगटेको भाग कत्ति पनि दिन नचाहने प्रवृत्तिका बिच उनीहरु बिच सिगौरी चल्न थाल्यो ।
बिशेष गरि नेपाली कांग्रेस तनहूँँका नेता तथा कार्यकर्ताले आफ्नो सबै शक्ति आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउने कृष्णकुमार श्रेष्ठ किसान बिरुद्ध लगाईरहनुभएको छ भने नेकपाका सांसद श्रेष्ठ पनि गाउँ गाउँ डुलेर हुन्छ आफ्नो तलब आमा समुह, युवा क्लब, गरिब निमुखालाई दिएर हुन्छ कि नेपाली कांग्रेसका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएर हुन्छ नेपाली कांग्रेसलाई कमजोर बनाउन लागिरहनुभएको छ । त्यसैक्रममा पछिल्लो समय बुल्दिखोलको पुल उद्घाटन विवादले तनहूँ निकै तात्न पुग्यो । विभिन्न बिकास निर्माणका काम शिलन्यास तथा उद्घाटन गर्न जिल्ला पुग्नुभएका रामचन्द्र पौडेललाई प्रमुख जिल्ला अधिकारीले तपाईबाट पुल उद्घाटन नियम संगत नहुने भन्दै रोक्न खोज्नुभयो तर रामचन्द्र पौडेलले रोकिन मान्नुभएन सुडेको पुल उद्घाटन गरिछाड्नुभयो र व्यास वडा नं. १, १० र ११ जोड्ने बुल्दिखोलको पुल उद्घाटन गर्ने दिन सत्तारुढ दलका कार्यकर्ताको अवरोधका कारण उक्त पुलको उद्घाटन कार्य हुन पाएन । निषेआज्ञा तोड्दै गर्दा वरिष्ठ नेता पौडेल करिब ३ घण्टा प्रहरी हिरासतमा बस्नुपर्यो, यस प्रसंगमा सांसद श्रेष्ठलाई जोडेर धेरै कुराहरु भईरहेका छन् । बिहिवार उक्त पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सबै वक्ताहरुले सांसद श्रेष्ठलाई यसमा सिधै अराजक भएको आरोप लगाएका छन् यस बारेमा माधब पौडेलले सांसद कष्णकुमार श्रेष्ठ किसानसग गरेको छोटो कुराकानी:

प्रश्नः बुल्दीखोला पुल उद्घाटन गर्न आउनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई रोक्न सिधै तपाईको हात छ भनिएको छ नि उक्त घटना तपाई कै निर्देशनमा भएको हो माननियज्यु ?
उत्तरः म त्यसक्षेत्रको जननिर्वाचित सांसद हो, काका रामचन्द्र पौडेल नेपाली कांग्रेसको वरिष्ठ नेता हुनुहुन्छ, संविधान किसान श्रेष्ठले मात्र मान्नुपर्छ कि सबैले ? संघिय र प्रदेश सरकारले बनाएको पुल उद्घाटन गर्नु ठुलो कुरो होईन, बर्षौ अगाडिदेखि प्रयोग भईरहेको पुल उद्घाटन गर्न अलिकति त सम्बन्धित निकायसग समन्वय गर्नु पर्यो नि । म त ठुलो मान्छे, मैले त जे भनेपनि हुन्छ भनेर गर्दै हिड्नुभएन नि ? कि आदरणिय रामचन्द्र पौडेलले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालयहरु अबैधानिक हुन् भन्नुपर्यो, न म त्यहाँको हाकिम न केहि मलाई मुछ्नु पर्ने दंग पर्नु ! म त्यहाँको जनप्रतिनिधि र बर्षौसम्म कांग्रेसको थिचोमिचोमा परेका जनताले म नै चाहिन्छ भनेर नारा जुलुस गर्नु स्वभाविक हो नि, रामचन्द्र काकालाई शिलालेखमा नाम लेखाउने त्यत्रो रहर थियो भने म नै वहाँलाई प्रमुख अतिथि बनाएर लग्थे नि बरु म कार्यक्रमको एउटा कुनामा बसेर वहाँलाई उद्घाटन गर्न सगाउथे, किन यत्रो लफडा गर्नुपर्थ्यो र ? जिल्लाका कार्यालयहरुसग समन्वय गरेर कार्यक्रम गर्थे ।
प्रश्न: वहाँहरु त पटक पटक तपाई कै निर्देशनमा सबै काम भएका हुन् भन्ने आरोप लगाईरहनुभएको छ नि वहाँहरुको के यो साँचो हो ?
उत्तरः काग्रेसका साथीहरु आफ्नो सरकार भएको पालामा गरेको जस्तो कसैलाई काखा कसैलाई पाखा गरेको होला किसानले भन्ने सोच्नुहुन्छ मैले कहिल्यै त्यस्तो गरेको छैन, मलाई जाबो एउटा पुल बनाएर के नाम लेखाउनु छ र मैले त रामचन्द्रकाकालाई पराजित गरेर आएपछि १० पुल बन्दैछ, मलाई जनताले किसानको पहलमा बजेट परेको हो भनेर सम्झिदिए पुग्छ, तपाईलाई एउटा कुरा जानकारी दिउ रामचन्द्र पौडेल काका अहिले त काठमाण्डौमा बस्नुहुन्छ वहाँको पुरानो गाँउ बाहुन पोखरा रिस्तिका मानिसहरुले लौन पौडेलबा २६, २६ बर्ष मन्त्री, उपप्रधानमन्त्री, सभामुख हुदा पनि एउटा पनि पुल हालिदिनुभएन सारै समस्या भयो भनेपछि हाम्रो सरकारले रामचन्द्र पौडेल जस्तो ऐतिहासिक व्यक्तिको जन्मेको ठाँउ हो भनेर २, २ वटा पुल पारेको छ र एउटा त शिलन्यास भईसक्यो रामचन्द्र काकालाई उद्घाटन गर्ने र शिलालेखमा नाम लेखाउने रहर भए त्यहाँ पनि म चाँजोपाँजो मिलाउछु नि ।

प्रश्नः यतिबेला तपाईमा रामचन्द्र पौडेल जस्तो मान्छेलाई हराएको हँु नि म भन्ने घमण्डले काम गरिरहेको छ भन्छन् नि मान्छेहरु के यो साँचो हो ?
उत्तरः म त्यस्तो घमण्ड गर्ने मान्छे त होईन, कहिलेकाहि मानिसहरुले कुरा गर्दा मलाई रामचन्द्र पौडेललाई हराउने सांसद भन्नुहुन्छ त म के गरुँ ? म ईतिहासलाई मेट्न त सक्दिन नि, यदि वहाँलाई मेरो व्यक्तित्व सानो लाग्थ्यो भने वहाँ मसग चुनाव लड्न नआइकन हेभिवेट उमेदवार खोज्दै जानुपर्थ्यो नि, म फेरि पनि भन्छु मैले जितेको होईन जनताले जितेका हुन्, जनताले रामचन्द्र काकालाई हराएका हुन् जुन कुरा सबैले स्विकार गर्नुपर्छ, आफुलाई लोकतन्त्रको ठेकेदार सम्झनेहरुले जनताको मतको अपमान गरेको अलि सुहाउदैन कि ?
प्रश्नः तपाईले कांग्रेसका नेता तथा कार्यकर्तालाई हाम्रो पार्टी प्रवेश गर्नुस् म तपाई गाउँ ठाँउमा बजेट हाल्दििन्छु भन्दै हिड्नुभएको छ , पार्टी प्रवेश गराईरहनुभएको छ भन्ने सुनिन्छ खास कुरा के हो ?
उत्तरः माधब भाई कांग्रेसका आदरणिय व्यक्तिहरुले सबै आफ्नो नानीदेखि लागेको बानी सुनाउदै हिड्नुभएको छ, कस्सो किसानले हाम्रा पार्टीका नेता कार्याकर्तालाई थर्काएर पार्टी प्रवेश गराएछ भन्नुभएन छ ? आफ्नो थैलीको गाँठो बलियो पार्नु अरुलाई दोष नलगाउनु भन्छन् त्यो सिक्नु कांग्रेसका मित्रहरुले, बर्षौसम्म कांग्रेसको विभिन्नगुटमा परेर स्थानिय निकायका जनप्रतिनिधिहरुको हप्की दप्की खाएका कांग्रेसका साथीहरु म कहाँ आएर दाई बर्षौदेखि कांग्रेसका लागि लडियो आज हामीले भनेको केहि काम हुदैन, बिकासको काम माग्न जाँदा हप्कीदप्की खानुपर्छ लौन उ यो योजनामा पैसा हालिदिनुपर्यो भन्नुहुन्छ र म कहाँ आएको थाहा पाएर आफ्ना नेताले थाहा पाए गाली गर्छन् कि भनेर लुकिलुकि फर्कनुहुन्छ हो म यस्तो ठाँउमा रकम पार्नको लागि पहल गरिदिन्छु, बिकास गरिदिन्छु, केहि महिनापछि वहाँहरु आफै दाई तपाईको बिकास गर्ने शैलि मन पर्यो, हामी तपाईको विरोधी पार्टीको भएपनि बिकास गरिदिनुभयो, हामी तपाईको पार्टीमा प्रवेश गर्छौ भन्नुहुन्छ त म के लखेटुँ कांग्रेसमा पिडित भएर आश्रय माग्न आएकालाई ? सोध्नुस् म सग बिकासको लागि पहल गरिदिन आउने कस्लाई मैले पार्टी प्रवेशको आग्रह गरेको छु ? न किसान न रामचन्द्र पौडेल सबैले जनताले तिरेको करबाट बिकास निर्माणमा पहल गरेका हौ , जनताले मुल्यांकन गरिरहेका छन् कस्ले कति पहल गरेको थियो भनेर ।

प्रश्नः अन्तमा तनहूँमा अन्य कम्युनिष्ट पार्टीका सांसद तथा नेताहरु हुदाहुदै पनि सबैको तारो नै किसान श्रेष्ठ मात्र किन ? तपाईको रामचन्द्र पौडेललाई हराउने मान्छे हँु भन्ने घमण्ड कि नेपाली कांग्रेसको तपाईप्रतिको रिस ?
उत्तरः के गँरु त मैले ? मलाई मेरो पार्टीका आदरणिय केन्द्रिय नेतादेखि जिल्लाका नेताहरु हरिबहादुर चुमानदेखि, टुकराज सिग्देल, पिएल् श्रेष्ठ, एकबहादुर राना, केदार सिग्देल सबैले मलाई योग्य सम्झनुभयो र त टिकट दिनुभयो त्यसपछि त आदरणिय रामचन्द्र काकासग चुनाव लड्ने सौभाग्य प्राप्त भयो । २६ बर्षसम्म आफ्नो गाँउमा पुल हाल्न नसक्ने रामचन्द्र पौडेलभन्दा त यो नयाँ मान्छे कम्युनिष्ट पार्टी पो ठिक हुन्छ कि भनेर तनहूँका न्यायप्रेमी जनताले, कांग्रेसको चाला देखेर दिक्क भएका जनताले मलाई होईन हाम्रो पार्टीलाई जिताए । हामीले देखाईपनि दियौ २६ बर्षमा नभएको काम हामीले रामचन्द्र पौडेलका गाँउलाई दुईवटा पुल बनाईदिदैछौ, अब रामचन्द्र काका आफ्नो पुरानो गाउँमा जाँदा जुत्ता खोलेर रिस्ति खोला तरेर जानुपर्दैन, पुलबाट सरर गाडिमै घर जान पाईन्छ । अनि नेपाली कांग्रेसको वरिष्ठ नेताको घर जाने ठाँउमा पुल हालिदिने पार्टीको सांसद किसानलाई र उस्को पार्टीलाई गाली नगरे त तनहूँ कांग्रेसको लाज पनि छोपिदैन नि । हामीले राम्रो काम गरेको देखेर छट्पटाएर त्यसै दोष जति किसान श्रेष्ठलाई मात्र दिएर हुन्छ र ? वहाँहरुको बस चले त रामचन्द्र पौडेल निर्वाचनमा पराजय भएको समयमा किसानले ल्याएको ३४ हजार ४ सय ९२ मत सबै किसान एक्लैले खसालेको भन्नुहुन्थ्यो अब त्यहि सुन्न मात्र बाँकि छ । वहाँहरु किसानले काम गरेको छ, बिकास निर्माणको सवालमा सबैलाई समान सोचेको छ भनेर बर्बराउन थाल्नुभएको हो अरु केहि पनि होईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्