चीनले बनायो संसारकै ठूलो सौर्य टेलिस्कोप, अन्तरीक्ष विज्ञानमा कोशेढुंगा

  • ख-
  • ख+

अन्तरीक्ष विज्ञानको खोज अनुसन्धानमा अमेरिकालाई पछि पार्ने कोशिसमा लागिरहेको चीनले संसारको सबैभन्दा ठूलो सौर्य टेलिस्कोप सेट तयार पारेको छ ।

उक्त टेलिस्कोप ३.१४ किलोमिटर को एउटा गोलाकार क्षेत्रमा राखिएको छ । यो टेलिस्कोप सेट तयार पार्नका लागि ३ सय १३ वटा डिसको प्रयोग गरिएको छ ।

यो सौर्य टेलिस्कोपबाट सूर्यको सुक्ष्म ढंगले अध्ययन गर्न सकिने र सूर्यको व्यवहारमा आउने परिवर्तनले पृथ्वीमा कस्तो असर पर्न सक्दछ भन्ने बारेमा बुझ्न सकिने बताइएको छ ।

उक्त टेलिस्कोपको नाम द दाओचेंग सोलार रेडियो टेलिस्कोप हो । चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा बनेको उक्त टेलिस्कोपमा प्रयोग गरिएका ३ सय १३ वटा डिसमा हरेक डिस्क १९।७ फुट चौडा छन् । यिनी डिसको सेटअपले यो टेलिस्कोप गोलाकार रुपमा तयार गरिएको छ र ३।१४ किलोमिटरको परिधिमा फैलिएको छ ।

यो चिनियाँँ टेलिस्कोपले सौर्य आँधी तथा कोरोनल मास इजेक्सनका गतिविधिहरुमा निगरानी गर्नेछ । सूर्यमा हुने यस्ता गतिविधिहरुले पृथ्वीमा विद्युतीय असर पार्दछ र कहिलेकाहीँ त्यसको असर निकै भयानक पनि हुने गर्दछ ।

कोरोनल मास इजेक्सन वा सि एम इ सूर्यको सतहबाट निस्किने सबैभन्दा भयानक विस्फोटहरु मध्ये एक हो । यसमा अन्तरीक्षमा दशौँ लाख माइल प्रतिघण्टाको गतिमा एक अर्ब टन सम्मका पदार्थ बाहिर निस्किन्छन् ।

ती पदार्थहरु यदि पृथ्वीतर्फ आइपुगे भने त्यसले विद्युत प्रशारण लाइन, टेलिकम्युनिकेसनका साथै अन्तरीक्षमा रहेका स्याटेलाइट तथा अन्तरीक्षयात्रीहरु समेत खतरामा पर्दछन् ।

चीनले हालै आफ्नो अन्तरीक्ष स्टेशनमा चालक दलका नयाँ सदस्यलाई पठाएको छ । उक्त सोलार टेलिस्कोप बनाउने मध्येका एक चिनियाँ वैज्ञानिक वू लिनका अनुसार कुनैपनि सौर्य आँधी पृथ्वीमा आउन सक्दछ कि सक्दैन भन्ने कुरा अब बताउन सकिनेछ । साथै पृथ्वीमा आउन सक्ने सौर्यआँधीका बारेमा पहिले नै चेतावनी जारी गर्न सकिनेछ ।

यसप्रकार यो सौर्य टेलिस्कोपले अन्तरीक्षको अवस्थाको भविष्यवाणी गर्न पनि सहयोग गर्ने उनको भनाई छ । चीनको यो विशाल टेलिस्कोप सन् २०२३ को जुन महिनादेखि पूर्णरुपमा सञ्चालनमा आउनेछ । (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्