ढाकाको अडिओबारे रविले भने- छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला

  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।

उनले भने, ‘हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु । तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेवित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु।’

देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुने लामिछानेले बताए । उनले छानबिन नसकिएसम्म पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने बताए ।

उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

उनले अडिओमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए ।

गद्दारी गरेको प्रमाणित भए कानूनी कारबाही गर्न प्रहरी प्रशासनमा हस्तान्तरण गरेर पठाउने उनले बताए । आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भएर अख्तियारमा आफैं पत्र लिएर जाने बताए ।
(नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्