नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च अधिकारीमाथि अनुसन्धान कसरी सुरु भयो

  • ख-
  • ख+

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपाली नागरिकसँग ठूलो रकम उठाएर ठगी गरेको आरोपमा पूर्व एवं वर्तमान राजनीतिक तथा प्रशासनिक उच्च अधिकारीमाथि “थप अनुसन्धान र आवश्यक कारबाही” अघि बढिरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा हालसम्म उक्त मामिलामा जोडिएको भनिएका आठ जना पक्राउ परिसकेका छन् भने पक्राउ पुर्जी जारी भएका अन्य कतिपयको खोजी जारी छ।

सरकारले आरोप लागेकाहरूमाथि ‘ठगी तथा सङ्गठित अपराध’मा मुद्दा चलाउने गरी कारबाही अघि बढाएको अनुसन्धान अधिकारीहरूले बीबीसीलाई बताए।

शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रवक्ताले हालसम्म कैयौँ जाहेरी प्राप्त भएको र करोडौँ रकम ठगी भएको उजुरी आएको बताए।

उक्त घटनामा मुछिएका केही व्यक्तिले ‘आफ्नो संलग्नता नभएको’ प्रतिक्रिया दिएको कतिपय सञ्चारमाध्यमले जनाएका छन्।
यद्यपि बीबीसीले आरोप लागेका तर पक्राउ नपरेकाहरूसँग गरेको सम्पर्कको प्रयास सफल हुन सकेन।

उक्त घटनालाई लिएर गृहमन्त्रीसहित राजनीतिक दलका नेताहरूले पनि प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

शरणार्थी प्रकरणको पछिल्लो विवरण
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कठायतका अनुसार हालसम्म उक्त मामिलामा जोडिएका भनिएका आठ जना पक्राउ परिसकेका छन्।

त्यसमा बहालवाला सचिवसहित गृहमन्त्रीका सल्लाहकार रहिसकेका व्यक्तिसमेत छन्।

त्यस्तै पूर्वमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवं वर्तमान प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको खबर छ।

रायमाझीले भने सार्वजनिक रूपमै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरिसकेका छन्।

यद्यपि उनी हालसम्म पक्राउ नपरेको कठायतले बताए।

बिहीवार दिउँसो उनले भने, “उहाँ पक्राउ परेको हालसम्म जानकारी आएको छैन। उहाँको छोरालाई चाहिँ पक्राउ गरिएको हो। खोजी कार्य जारी छ।”

यसअघि बुधवार उक्त मामिलामा मुछिएका एक जना बहालवाला सचिव टेकनारायण पाण्डे गिरफ्तार भएका थिए।

पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डे यसअघि गृह मन्त्रालयमा थिए।

त्यसअघि मङ्गलवार उक्त प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै बुधवारै प्रहरीले काठमाण्डौ उपत्यका बाहिर रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको कठायतले जानकारी दिए।

उनलाई बिहीवार काठमाण्डौ ल्याएर अदालतमा पेस गरिने उनको भनाइ छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘गिरोह चलाएको’ आरोपमा सबैभन्दा पहिले प्रहरीले गत चैत दोस्रो साता तीन जनालाई पक्राउ गरेको थियो।

त्यस बेला मोरङका केशव दुलालसहित सानु भण्डारी र टेक गुरुङलाई प्रहरीले गिरफ्तार गरेको थियो।

त्यसपछि प्रहरीले सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलाई पनि पक्राउ गरेको थियो।

(विविसि नेपाली)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्