कक्षा १२ को परीक्षाको तयारी पूरा, चार लाख ६७ हजार ३८९ जना परीक्षार्थी सहभागी हुने

  • ख-
  • ख+

मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन् ।

उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे ।

यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा देशभरबाट कुल चार लाख ६७ हजार ३८९ जना विद्यार्थीले परीक्षा दिन लागेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परिचालन गरिएको जानकारी दिए । ‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला–जिल्लामा पु¥याइएको छ’, शर्माले भने ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो, सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्नेछ । ६ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको हो ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्