युगान्डाको एक विद्यालयमा सशस्त्र विद्रोहीको हमला, ४० जनाको मृत्यु

  • ख-
  • ख+

युगान्डामा इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेका विद्रोहीहरूले एक विद्यालयमा हमला गर्दा झण्डै ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरैजसो विद्यार्थी छन्।

पश्चिम युगान्डाको पोन्ड्वे सहरमा रहेको एक माध्यमिक विद्यालयमा भएको उक्त हमलामा परेका थप आठ जनाको अवस्था गम्भीर छ।

मृत्यु हुनेहरू विद्यालयको छात्रावासमा रहेका छात्रहरू छन्।

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो ९डीआरसी०मा रहेको युगान्डाको समूह एलाइड डेमोक्र्याटिक फोर्सेस ९एडीएफ०लाई शुक्रवारको हमलाका लागि दोष दिइएको छ।
धेरैजसो शवलाई अस्पताल पुर्‍याइएको राष्ट्रिय प्रहरी प्रवक्ताले बताएका छन्।

उक्त हमला शुक्रवार स्थानीय समयअनुसार राती साढे ११ बजेतिर भएको थियो।

६० जनाभन्दा धेरै विद्यार्थी रहेको उक्त विद्यालयमा अधिकांश आवासीय रूपमा पढ्छन्।

एडीएफका विद्रोहीहरूले एक डोर्मिटरी र खाद्य भण्डारमा आगजनी गर्नुका साथै लुटपाट समेत गरेको प्रहरीले जनाएको छ।

केही छात्रहरूलाई जलाइनुका साथै बीभत्स तरिकाले हत्या गरिएको युगान्डाको सेनाका एक मेजर जेनेरलले सञ्चारमाध्यमलाई बताएका छन्।

उनले धेरैजसो छात्राहरूसहित विद्यालयका अन्यलाई अपहरण गरिएको बताएका छन्।
जलेर मृत्यु भएका केहीको पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने बताइएको छ।

ती हमलाकारीहरूले विद्यार्थीका बिछ्यौनाहरू जलाउनुका साथै त्यस क्षेत्रमा बम विस्फोटनहरू गराएको बताइएको छ।

सेनाले एडीएफ लडाकुहरूलाई डीआरसीको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ पछ्याइरहेको छ।

खोज कार्यमा विमानहरू समेत परिचालन गरिएको बताइएको छ।
उक्त समूहलाई परास्त गर्न १८ महिना अघि गरिएको एक सैन्य कारबाही असफल भएको थियो।

अतिवादी मुस्लिम समूहका रूपमा एडीएफले सन् १९९० को दशकमा राष्ट्रपति युवेरी मुसेभिनीको सरकारविरुद्ध विद्रोह सुरु गरेको थियो।

पछिल्ला दुई दशकमा एडीएफ डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको पूर्वी भागमा रहँदै आएको छ।

युगान्डा र डीआर कङ्गोले पूर्वी कङ्गोमा एडीएफका हमलाहरू रोक्नका लागि संयुक्त कारबाहीहरू गरेका छन्।(बिबिसि)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्