त्रिवि स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्‍ने तयारी

  • ख-
  • ख+

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने तयारी गरेको छ।

शुक्रबार उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने बताएका हुन्।

अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति बाँसकोटाले बताए।

‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने सोच बनाएका छौँ। यसबारे अध्ययन गरिरहेका छौँ। तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछु, उपकुलपति प्रा. डा. बाँस्कोटाले भने ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अंग्रेजी भाषामा प्रश्न बनाउननै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन।

त्रिविका उपकुलपति प्रा. डा. बास्कोटाले गत ४१ दिनदेखि कीर्तिपुर पीडित सरोकार समाजका नामबाट विश्वविद्यालयमा जागिर लगाइदिन माग गर्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएकाले आफूहरू बाहिर बसेर काम गर्न बाध्य भएको बताए। उनले एक वर्षदेखि त्रिविको सेवा आयोगका अध्यक्षको पद रिक्त भएकाले जनशक्ति व्यवस्थापनका कार्यमा कठिनाइ भएको जनाउँदै विश्वविद्यालयलाई समृद्ध बनाउन जोड दिई नयाँ विश्वविद्यालय नखोल्न आग्रह गरे।

बैठकमा समितिका सभापति डा. कालुराम राईले उच्चशिक्षाका लागि विद्यार्थीहरु बाहिर जानुपर्ने अवस्थालाई कसरी रोक्न सकिन्छ भनेर चिन्तन मनन गर्नुपर्ने बताए।

बैठकमा नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले मुलुकको पहिचान शिक्षाको विकासका आधारमा एहुनुपर्ने बताउँदै सर्वोत्कृष्ट र विद्यावारिधि गरेकालाई सिधै प्रक्रिया पूरा गरेर सिधै प्राध्यापकमा नियुक्ति दिनुपर्ने बताए।

नेकपा (एमाले) का सांसद विद्या भट्टराईले विश्वविद्यालयहरुमा कसले के कारणले तालाबन्दी गर्ने गरेको होरु त्यसको कारणको भित्री तहमा पुगेर राजनीतिको उपल्लो तहबाटै समस्या समाधानका लागि ठोस प्रतिबद्धता आवश्यक भएको बताइन्।

नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वशिक्षामन्त्री देवेन्द पौडेलले त्रिवि स्वायत्त निकाय भएकाले उसले गर्न सक्ने काम आफैँ गर्नुपर्ने र आफ्नो विश्वविद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए।

उनले विश्विद्यालयमा हुने तालाबन्दी र त्यहाँभित्रका भौतिक हमला अनुचित भएकाले त्यसलाई नियन्त्रण गर्ने काममा आफूहरू सहयोगी हुनेमा जोड दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले त्रिविका विद्यार्थीको चाहना र प्राज्ञिक सन्तुष्टिबारे विश्वविद्यालयले अध्ययन गर्नुपर्ने माग गर्दै आफूले गरेको सर्वेमा विद्यार्थीले समयमा परीक्षा र परीक्षाफल प्रकाशन नभएको गुनासो गरेको जानकारी दिइन्।

उनले हरेक विषयको वार्षिक शैक्षिकपात्रो लागू गर्न आग्रह समेत गरिन्। सोही पार्टीका सांसद डा तोसिमा कार्कीले परीक्षामा प्रश्नपत्रमा त्रुटि गर्नेलाई कारबाही गर्न माग गरेकी छन्।

यस्तै बैठकमा बोल्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले राष्ट्रिय योग्यता परीक्षण लागू गराउन तयारी भएको जानकारी गराउँदै त्रिविका क्याम्पसहरू गाभ्ने प्रक्रिया पनि प्रारम्भ भएको बताए।

उनले आयोगले राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउने भएकाले त्रिविलगायत सबै विश्वविद्यालयले तोकिएको समयमा अध्यापन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नैपर्ने स्पष्ट पारे।

देशमा १२३ मातृभाषा बोलिन्छन्। हाल त्रिविसहित ११ विश्वविद्यालय सञ्चालनमा छन् भने दुई नयाँ विश्वविद्यालयका कानुन कार्यान्वनमा आई सञ्चालनको तयारीमा छन्। अहिले ३ लाख ४७ हजार २६९ विद्यार्थी रहेको मुलुकको ठूलो विश्वविद्यालयमा १ हजार १२४ सम्बन्धन प्राप्त र ६२ आंगिक क्याम्पस छन्।

(edusawal बाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्