लमजुङमा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता हुने

  • ख-
  • ख+

लमजुङ– विरलै मात्र राष्ट्रियस्तरका कार्यक्रम हुने गरेको यस जिल्लामा पहिलो पटक खुल्ला (राष्ट्रव्यापी) कविता प्रतियोगिताको तयारी थालिएको छ । सो प्रतियोगिता ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजनामा आउँदो कार्तिकमा पुरस्कार वितरण गर्ने गरी तयारी थालिएको हो ।
प्रतियोगिता कविवर डिल्लीजङ्ग गुरुङको ११६ औं जन्मजयन्ती दिवसका अवसरमा गरिने भएको आयोजकले जनाएको छ । मर्स्याङदी गाउँपालिकाको प्रवर्द्धनमा हुने उक्त प्रतियोगिता आउँदो कार्तीक १४ गतेका दिन पुरस्कार वितरण गर्ने गरी तयारी थालिएको हो । सो दिन कविवर डिल्लीजङ्ग गुरुङको ११६ औं जन्मजयन्ती पर्ने आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा पहिलो हुने कवितालाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ, तेस्रोलाई २० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही १०/१० हजार रुपैयाँका दरले पुरस्कार र प्रमाणपत्र दिइने भएको छ ।
प्रतियोगितामा उत्कृष्ठ हुने १५ कविताका स्रष्टा कविलाई आमन्त्रण गरि कविता वाचन गर्न दिइने भएको आयोजक संस्था आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार राष्ट्र, राष्ट्रियता र समसामयिक विषय समेटिएको, गाली गलौज रहित कवितालाई प्राथमिकता दिइने र कविता पद्य र गद्य दुवैमा लेख्न सकिने नीति तय गरिएको छ । उहाँले भन्नुभयो, ‘कविता २ सय शब्दमा नबढाई लेख्नु पर्छ ।’ प्रतियोगितामा २ सयभन्दा बढी कविता प्राप्त हुने अपेक्षा गरिएको पहाडीले बताउनु भयो । उहाँका अनुसार त्यसरी प्राप्त हुने कवितामध्ये पहिलो चरणमा ३० कविता छनोट हुनेछ । दोस्रो चरणमा १५ वटा छानिने र तीमध्येबाट पुरस्कृत कविताको छनोट हुने भएको छ ।
उक्त प्रतियोगितामा विदेशमा बस्नु हुने नेपाली भाषी कविहरूले समेत कविता पठाउन सक्ने व्यवस्था छ । विदेशमा बस्ने कविहरू पुरस्कार वितरणका अवसरमा उपस्थित हुन नसकेमा अडियो वा भिडियोबाट उहाँहरूको कविता कार्यक्रममा प्रस्तुत गर्ने प्रवन्ध गरिने आयोजकको भनाइ छ ।
पुरस्कार वितरण हुने सो दिनमा कविवरको अर्धकदको शालिक अनावरण, उहाँको स्मृतिमा स्थापित पुरस्कारको अक्षयकोष घोषणा लगायतका कार्यक्रम गरिने तयारी रहेको आयोजकको भनाइ छ ।
प्रतियोगिताका लागि कविता आउँदो असोज २२ सम्म आयोजकले पाउने गरी पठाउने प्रावधान रहेको छ । अन्तरंग न्युज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्