इजरायलमा हमास आक्रमण: १० नेपालीको मृत्यु, दुई दिनदेखि ४७ जना बंकरमा

  • ख-
  • ख+

काठमाडौँ — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ । मृत्यु हुने सबै छात्र हुन् । इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरी १० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । एक जना बेपत्ता छन् । घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सकुशल छन् । मृतकको शव नेपाल पठाउनका लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको नेपाली दूतावासले जनाएको छ । ‘सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य जारी छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।

मृत्यु हुनेका नाम भने दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छैन । दूतावास स्रोतका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।

स्थानीय अस्पतालमा उपचार गराइरहेकामा शारदा–२ सल्यानका विधान सेजवाल, दंगीशरण–३ दाङका प्रविन डाँगी, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल रहेका छन् । बेपत्ता हुनेमा भीमदत्त–३ कञ्चनपुरका विपिन जोशी रहेका छन् भने त्रिवेणी–१ सल्यानका प्रमोद केसी र त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी भजनी सुरक्षित छन् ।

हमास लडाकुको आक्रमणमा परी घाइते भएलगत्तै कञ्चनपुरका विपिन जोशीले फोन गर्दै नजिकको दूरीमा रहेको बर्दियाका लुइस रिजालको टोलीसमक्ष एम्बुलेन्स पठाइदिन गुहार मागेका थिए । यो टोलीमा नेपाली तीन युवतीसहित ११ जना छन् । त्यतिखेर ५ जना मात्रै घाइते भएका थिए । ‘हमास आक्रमणकारीले साथीहरू बसेको क्याम्पभित्रै ग्रिनेड फालेका थिए । त्यो ग्रिनेडलाई विपिनले कोठाबाट बाहिर फालिदिए । त्यसपछि फेरि अर्को ग्रिनेड फालियो । त्यो विस्फोट हुँदा ५ जना साथीहरू घाइते भएका थिए,’ घाइतेहरूसँग निरन्तर सम्पर्कमा रहेका रिजालले कान्तिपुरसँग फोनमा भने, ‘सुरुमा घाइते साथीहरूमध्ये चार जना अस्पताल गए, घाइते नभएका साथीहरू भने पछि मारिए ।’
‘घाइते भएकाहरू एउटा बंकरमा गएर बसे, केही नभएकाहरू अर्को बंकरमा,’ उनले भने, ‘गाडीको आवाजलाई एम्बुलेन्स ठानेर बंकरबाट बाहिरिनासाथ नारायणप्रसादलाई गोली लाग्यो । ज्यान बचाउन कोही चामलको बोरा ओढेर बसेका थिए, कसैलाई बंकरभित्रै आएर आक्रमणकारीले गोली प्रहार गरे । पछि घाइते भएकाहरू सम्पर्कमा आइरहेका थिए । धेरैजसो साथीहरू समयमा उपचार नपाउँदा रक्तस्राव भएरै मरे ।’

गोली लागेपछि आत्तिँदै एम्बुलेन्स मागिराख्दा आफूहरूले कोही गर्न नसकेकोमा लुइसले दुःख व्यक्त गरे । ‘लगभग घण्टा, दुई घण्टा र तीन घण्टाको फरकमा एकपछि अर्को गरी घाइते साथीले पानी पानी भन्दै फोन गर्थे । उनीहरू मलाई बचाऊ बचाऊ गोली लागेको छ भनेर कराउँथे,’ उनले भने, ‘हामीले उद्धार गर्न नेपाली दूतावासलाई फोन गर्‍यौं, एनआरएनलाई गुहार माग्यौं । तर कसैबाट पनि केही सीप लागेन । साथीहरू एकपछि अर्को गरी सम्पर्कविहीन हुँदै गए ।’

लुइसका अनुसार विपिनलाई भने आक्रमणकारीहरूले बन्धक बनाएर लगेका छन् । ‘हामीलाई साथीहरूको सबै विवरण विपिनले नै दिइरहेका थिए । दिउँसो २ बजेतिर आक्रमणकारीले लिएर गयो । त्यसपछि उनी कसैको सम्पर्कमा छैनन्,’ लुइसले भने । लुइसको ११ जनाको टोलीसहित ४७ जना नेपाली आइतबार रातिसम्म बंकरमै छन् । उनीहरू फरक–फरक कृषि फार्मका हुन् ।

‘एउटा बंकरभित्रका हामी ११ जनाले शनिबार बिहान ७ बजेदेखि अहिलेसम्म खान पनि पाएका छैनौं । पानी मात्रै खाएर चिसो बंकरभित्र बसेका छौं । चिसोले गर्दा स्वास्थ्य बिग्रिँदै गएको छ,’ उनले कान्तिपुरसँग बिलौना पोख्दै भने, ‘सबैलाई पखाला लागेको छ । तातो पानी खान पनि पाइएको छैन । सरकार, दूतावास सबै हामी उद्धार गर्छौं भनिरहेका छन्, नआत्तिई बस्नु भनेर झूटो आश्वासन मात्रै दिइराख्नुभएको छ । हाम्रो ज्यान जोगिन्छ कि जोगिँदैन, बुझिदिनुपर्‍यो ।’

सेदोत नेगेभमै रहेको मिभ्टाहिम सोरसिम फार्ममा १५ जना नेपाली विद्यार्थी छन् । फार्ममा रहेकी धनगढीकी कल्पना शर्माले शनिबारको रात आफ्ना लागि जिन्दगीकै सबैभन्दा लामो रात रहेको बताइन् । ‘रातभरि घरको याद आयो । देशको याद आयो । केही नभए पनि देशमा शान्ति थियो, सन्तुष्टि थियो । टाउको मात्रै दुख्दा पनि ख्याल राख्ने परिवार हुनुहुन्थ्यो । यस्तो आपत् पर्दा यता सुनाउने ठाउँसम्म पनि भएन,’ शर्माले कान्तिपुरसँग भनिन्, ‘रातभर श्वास पनि फेर्न नसकिने बंकरभित्र पानी मात्रै खाएर बस्दा घरको साह्रै याद आएको छ । बेपत्ता साथीहरूलाई सम्झिँदै रातभर आँसु थामिएन, मन थामिएन । अहिले मृत्यु भएको खबर सुनेदेखि हामी सबैको मन आत्तिएको छ ।’

ती विद्यार्थीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरू पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू बसेको क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो । ३२ जना कृषि विद्यार्थीहरू भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रतिनिधिसभाको आइतबारको बैठकमा हाल इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रूपमा कार्यरत रहेको जानकारी दिए । साउदले बैठकलाई इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिँदै इजरायलमा रहेका नेपालीको अवस्था यकिन गर्न र उद्धारका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको बताएका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २ सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । ‘यसमध्ये कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका हुन्,’ परराष्ट्रमन्त्री साउदले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किवुज अलुमिन भन्ने स्थानमा अध्ययनरत हुन् ।’

इजरायलको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका नेपालीको उद्धारलगायतका विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बिहान बैठक बसी संयन्त्र स्थापना गरिएको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए । इजरायलमा रहेका नेपालीको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि मन्त्री साउदले जानकारी दिए ।

इजरायलस्थित नेपाली दूतावासले इच्छुक नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले अलपत्र परेका नेपालीलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्तिहरू तोकी विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका दुई सहसचिव, एक उपसचिव, एक शाखा अधिकृत, राजदूत कान्ता रिजाल (९७२५४५८६४४२३) र प्रथम सचिव अर्जुन घिमिरे (९७२५२८२८९३००) मा सम्पर्क गर्न अपिल गरिएको छ ।
साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्