मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु

  • ख-
  • ख+

हिमालपारी मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्।

लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको मुस्ताङ प्रहरीका सूचना अधिकारी इन्सपेक्टर दिनेश गौतमले बताए।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो। अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेको गौतमले बताए। उनको शव पोष्टमर्टम गर्न हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं पठाइएको छ।

यस्तै, मुक्तिनाथ दर्शन गर्न आएका भारतीय नागरिक सत्यनारायणलाई पनि असोज २१ गते श्वासप्रश्वासको समस्या देखिएको थियो। उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो। उनको स्वास्थ्य अवस्था नाजुक भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो।

भारतको तिलगङ्गाबाट आएका सत्यनारायणको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

भारतकै तमिलनाडुबाट मुक्तिनाथ आएकी रेवतीको पनि श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। मुस्ताङको प्रवेशद्धार घाँसा पुगेपछि उनलाई असोज २३ गते श्वासप्रश्वासमा समस्या देखिए थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि रेवतीलाई लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। स्वास्थ्य केन्द्रमा उपचारका गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

पर्यटक सिजन सुरू भएसँगै मुस्ताङमा पर्यटकको चाप बढेको छ। मोटरबाटोबाट छिट्टै उच्च हिमाली भेगमा पुग्ने पर्यटकलाई लेक लाग्ने गरेको छ।
साभारः सेटोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्