गोरखामा घर आगलागी हुँदा जलेर आमा कान्छी गुरुगं र छोरा चनारसिंङ गुरुङको मृत्यु

  • ख-
  • ख+

२६ कात्तिक, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ ।

७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘हिजो राति घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो’, प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरीक्षक कमाण्डको टोली जाँदै छ ।’

आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए ।
वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राति १० बजे खबर पाएको बताए ।

‘खबर आएलगतै हामी त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको रहेछ, गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा लाग्यो, बल्लतल्ल आगो नियन्त्रण गरेर घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला पार्‍यौं’, उनले भने ।

घर न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्