अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सपना कसरी क्यानडामा चकनाचुर भइरहेको छ ?

सर्वज्योति
  • ख-
  • ख+

“क्यानडा पुग्ने मेरो सपना ६ पटक भताभुङ्ग भएको थियो। अन्ततः जब म सातौँ प्रयासमा क्यानडा पुगे म अलपत्र परे।”

यो अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा क्यानडा पुगेका सहजप्रित सिंहको भनाई हो। तर उनी एजेन्ट र कलेजबाट धोकाधड्डीको सिकार भएको बताउँछन्।

वास्तवमा सहजप्रित सिंहको राहदानीलाई क्यानडाको उच्चायुक्तले छ पटक प्रवेशाज्ञा अस्वीकार गरेको थियो।

सहजप्रित सिंहका अनुसार चन्डिगढका एक जना एजेन्टले उनलाई एउटा निजी कलेजमा भर्ना दिलाए। तर त्यसका अधारमा उनले काम गर्ने अनुमति भविष्यमा प्राप्त गर्न सक्दैनथिए। त्यो कुरा उनलाई क्यानडा आएपछि मात्रै थाहा भयो।

सहजप्रित भन्छन्, अहिले कलेजले उनलाई कुनै पनि किसिमले मद्दत गर्न नसक्ने कुरा भनेको छ।

ती एजेन्टले अहिले आफ्नो फोन उठाउन छाडेको र कलेजले पनि प्रस्ट जवाफ नदिएको उनले बताए।

उनका अनुसार चन्डिगढमा रहेका प्रतिनिधिले कलेज र कोर्स निर्क्योल गरिदिएका थिए र भिसाका लागि चिन्ता नलिन उनलाई आश्वस्त बनाएका थिए।
सहजप्रितले जब भिसा पाए, ती एजेन्टले आफ्नो प्रवर्द्धनका लागि एउटा भिडिओ पनि बनाए जसमा उनले कसरी विगतमा ६ पटक भिसा अस्वीकृत भएको तर आफूले क्यानडाको उच्चायुक्तको कार्यालयबाट त्यो दिलाउन सफलता पाएको तर्क गरेका छन्। सम्बन्धित एजेन्टको सामाजिक सञ्जालको खातामा अहिले पनि उक्त भिडिओ उपलब्ध छ।

सहजप्रित सिंहले ती एजेन्टले आफूसँग भारु १२ लाख रुपियाँ लिएको दाबी गरेका छन्। त्यसमध्ये कलेज शुल्क १४,००० डलर र जीआईसी र अन्य खर्चहरू लिइएको उनको भनाइ छ।

उनले एजेन्टले आफूसँग झुट्टो कुरा गरेको र बाँकी रकम खल्तीमा हालेको उल्लेख गरेका छन्। बीबीसीले चण्डिगढमा रहेका सहजप्रित सिंहका एजेन्टसँग कुराकानी गर्ने प्रयास कैयौँ पटक गरेको थियो तर उनले बीबीसीसँग कुरा गर्न अस्वीकार गरेका छन्।

क्यानडामा प्रवेश गर्ने एउटा बहाना मात्र अध्ययन
२३ वर्षका सहजप्रित पन्जाबको पटियालाका हुन्। उनले एजेन्टको मद्दतले सन् २०२३ मा क्यानडा पुग्न १९ लाख भारतीय रुपियाँ खर्च गरे। उनी आतिथ्य सत्कार तथा व्यवस्थापन सम्बन्धी दुई वर्षे कोर्स अध्ययनका लागि त्यहाँ पुगेका थिए।

सहजप्रित सिंह आफ्ना अभिभावकका एक मात्रै छोरा हुन्। उनले पछिल्लो तीन महिनामा आफू एक पटक पनि कलेज नगएको बताए। उनको कलेज सरेमा छ र उनी ब्राह्मप्टनमा बस्छन्। उनले एक दिन आफू साथीहरूसँग कलेज हेर्न गएको बताए। तर उनले जे देखे त्यसले उनलाई छक्क पारिदियो।

सहजप्रित सिंहका अनुसार त्यहाँ एउटा मात्रै सार्वजनिक पार्किङ क्षेत्र थियो र कलेज भवनको ठाउँमा केही कोठाहरू मात्रै रहेका थिए। भित्र एउटा रिसेप्सन थियो र केही खाली कोठाहरू थिए। दुई जना महिलाहरू रिसेप्सनमा थिए। त्यहाँ अन्य कोही कर्मचारी र अन्य मानिसहरू थिएनन्।
कलेजको अध्ययनबारे सोध्दा सबैकुरा अनलाइन भएको र कलेज जानुपर्ने आवश्यकता नरहेको जवाफ दिइयो।

कलेजको उपस्थिति समेत अनलाइनबाट तय गरिने र परीक्षा अनलाइनबाटै सञ्चालित हुने उनको भनाई थियो। त्यसपछि उनले मलाई आफूले कलेजले दिने गृहकार्य आफूले नगर्ने बरु त्यो भारतमा रहेका एक जनाबाट गर्न लगाउने जनाए। त्यसबापत ५०० रुपियाँ भारु शुल्क तिर्ने बताएका उनले अरूले गरेको गृहकार्य अपलोड गर्ने गरेको जनाए।
कलेजको पोर्टलमा उनले ८० प्रतिशत अङ्क प्राप्त गरेको देख्न सकिन्छ।

सहजप्रित सिंहले आफ्नो कक्षामा ४० जना रहेको र ती सबै पञ्जाब र हरियाणाका रहेको बताए। उनले कक्षामा आफूले पछिल्लो ३ महिनामा कहिल्यै पनि बोल्न नपरेको बताए। वास्तवमा सम्पूर्ण सञ्चार र कुराकानी नै या त पन्जाबी या हिन्दीमा हुने गरेको उनी बताउँछन्। सहजप्रितले भाषा परीक्षा आईएलटीसमा आफूले १० मा ६ ल्याएको दाबी गरे।

सहजप्रीत सिंहले फोनमा मेरै सामुन्ने एउटा कक्षामा सहभागिता जनाए। उनले माइक्रोफोन अफ गरे र आफ्नो कामलाई जारी राखे। उनी अहिले एउटा कार वर्कसपमा काम गर्छन् र त्यहीँबाट नै अनलाइन अध्ययन गर्छन्। बीबीसीको टोली दुई घण्टा सहजप्रित सिंहसँगै रहँदा उनको अनलाइन कक्षा चलिहरेको थियो। शिक्षकले पढाउने काम जारी राखेका थिए र उनी धन्यवाद दिएर निस्के।
त्यो बेला सहजप्रित सिंहलाई शिक्षकले के पढाए थाहा नै थिएन। उनले शिक्षकले के भनिरहेका छन् भन्ने कुरा पनि सुनेनन्। अनलाइन कक्षाका आधारमा उनको उपस्थिति भने कायम रह्यो।

सहजप्रित सिंहले भर्चुअल माध्यमबाट केही पनि नपढाइने बताउँछन्। शिक्षकलाई भेट्नु त परको कुरा हो, एउटा पनि प्रयोगात्मक कक्षा सञ्चालन गरिएन। उनको कक्षा फोनका माध्यमबाट हप्तामा तीनपटक हुने गर्छ।

सहजप्रितमाथि भएको जालझेलका लागि को जिम्मेवार छ ?
सहजप्रित सिंह एजेन्ट र कलेज दुवैले आफूलाई ठगेको बताएका छन्। तर आश्चर्यको कुरा के छ भने, यति सब हुँदा पनि उनी कसैमाथि कारबाहीको प्रक्रिया अघि बढाउन चाहँदैनन्। उनले आफ्नो उद्देश्य कुनै पनि माध्यमबाट क्यानडा पुग्ने रहेको बताउँदै त्यो लक्ष्य हासिल भएको बताए। उनले कसैमाथि कारबाहीको प्रक्रिया अघि बढाएर केही प्राप्त नहुने पनि जनाए।

यद्यपि अहिले क्यानडामा आफ्नो भविष्यलाई लिएर उनी अन्योलग्रस्त छन्। सहजप्रित सिंहले आफूले काम गर्ने अनुमति पत्र अर्थात् वर्क परमिट प्राप्त गर्ने गरी कलेजमा भर्ना खोजिरहेको पनि बताए।

पैसा र एक वर्ष त्यसै खेर जाने सम्भावनाबारे सहजप्रित सिंहले आफू जुनसुकै मूल्य चुकाएर क्यानडा आउन चाहेको बताए। “मलाई साथी र चिने जानेकाहरूले सम्झाउने प्रयास गरेका थिए तर मैले उनीहरूलाई ध्यान दिइन्। जब म त्यहाँ पुगे, मैले सोचेको भन्दा विल्कुल फरक परिस्थिति पाए।”

नेपालीको कठोर सङ्घर्ष
सुमन राई आफ्नी श्रीमतीलाई साथ लिएर सन् २०२३ को सेप्टेम्बरमा विद्यार्थी भिसामा क्यानडा आएका थिए। पछिल्ला केही वर्षमा नै क्यानडामा रहेका नेपाली विद्यार्थीहरूको सङ्ख्या ३ गुणाले बढेको छ। सुमन राईले आफू अरू नेपाली विद्यार्थीहरूसँग बसिरहेको कोठामा हामीलाई लिएर गए।

त्यो भूमिगत तल्लासहितको घर थियो र भुईँमा पाँचवटा डसना बिच्छ्याइएको थियो। भान्सासहित सबैतिर सामानहरू छरपस्ट रहेका थिए र त्यसले त्यहाँको खराब अवस्था झल्काउँछ।

सुमन राई आफ्नो कक्षाका ९५ प्रतिशत विद्यार्थीहरू भारतका रहेको र निजी कलेजमा शिक्षाको गुणस्तर उपयुक्त नरहेको बताउँछन्।

उनले आफूले हतारिएर क्यानडा आउने निर्णय लिएको बताए। क्यानडामा आफ्नो भविष्यलाई लिएर अलमलमा रहेका उनी उक्त देशको अहिलेको अवस्था राम्रो नरहेको ठान्छन्।
उनले रोजगारी, आवास र बढ्दो महँगी क्यानडाका लागि ठूलो समस्या रहेको बताए। सुमन काठमाण्डूका हुन् र उनका अनुसार ठूलो सङ्ख्यामा एजेन्टहरू भएका कारण हालैका वर्षमा क्यानडामा ठूलो सङ्ख्यामा नेपालीहरू पुगेका हुन्।

उनले त्यहाँ पुग्नुअघि नै क्यानडा पुग्नुका बारेमा थप सूचना लिनुपर्ने भन्दै जुनसुकै हालतमा पैसा कमाउने उद्देश्य राखेका एजेन्टहरूलाई आँखा चिम्लिएर विश्वास गर्न नहुने बताए।

पहिले र अहिलेबीचको अवस्थामा कस्तो फरक
दीप हजरा १२ वर्षअघि विद्यार्थीको रूपमा क्यानडा आएका थिए र अहिले ब्राह्मप्टनमा उनको आफ्नै व्यवसाय छ। उनका अनुसार उनी आएयता धेरै कुरा फेरिएको छ। उनका अनुसार यसअघि अधिकांश विद्यार्थीहरू आफ्नै देशमा उच्च तहको अध्ययन पुरा गरेर क्यानडा आउँथे र उनीहरू राम्रा कलेजहरूमा भर्ना हुन्थे। दीपले आफ्नै उदाहरण दिदैँ आफ्नो कलेज ठूलो भएको र शिक्षकहरू नियमित आउने गरेको बताए। तर अहिले धेरै कोर्सहरू अनलाइन माध्यमबाटै पढाइन्छ।

दीपका अनुसार केही वर्षअघि विद्यालय अध्ययन पुरा गरेकाहरूलाई लक्षित गर्दै डिप्लोमा कोर्स सुरु भयो र त्यसपछि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ताँती नै लाग्यो। पहिला उनीहरूलाई भारतमा रहेका एजेन्टहरूले शोषण गरे, त्यसपछि भारतका कलेजहरूले शोषण गरे र पछि उनीहरू काम गर्ने गरेका उद्योग वा रेस्टुराँहरूले पनि शोषण गरे।

दीपका अनुसार अघिल्लो वर्ष विद्यार्थी भिसामा आएका धेरै जनालाई भारतमा रहेका एजेन्टले ठगेको उल्लेख गर्दै उनले क्यानडाको कलेजको नक्कली अफर लेटर दिएको बताए।
जब क्यानडाको बोर्डर कन्ट्रोल एजेन्सीले नक्कली कागजपत्रसहित क्यानडा आएका विद्यार्थीहरूलाई देश निकाला गर्ने निर्णय लियो, विद्यार्थीहरूले टोरन्टो नजिकैको पिआर बन्दरगाहमा धेरै दिनसम्म प्रदर्शन गरेका थिए।

पछि क्यानडाको प्रहरीले विद्यार्थीहरूलाई जाली कागजपत्र दिएको आरोपमा ब्रिजेश मिश्रा नामक एक जना ट्राभल एजेन्ट्स भनिएका व्यक्तिलाई पक्राउ गर्‍यो।

त्यो बेला क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्‌मा भनेका थिए, “हाम्रो उद्देश्य ठगीका पीडितलाई दण्डित गर्ने होइन बरु अपराधीहरूलाई पहिचान गर्ने हो।”

कलेज र विश्वविद्यालयले गर्ने शोषण
यसै वर्षको सुरुमा क्यानडाको आल्गोमा विश्वविद्यालयका विद्यार्थीहरूले ब्रह्याम्पटन क्याम्पसमा प्रदर्शन गरेका थिए। झन्डै १३० विद्यार्थीमध्ये अधिकांश पञ्जाबी र गुजराती थिए। उनीहरू एउटा विषयमा फेल भएका थिए। अत्यधिक चिसो मौसममा उनीहरू लामो समय प्रदर्शनमा बसेका थिए।

विद्यार्थीहरूले एक जना शिक्षकले नियोजित रूपमा त्यत्ति धेरै विद्यार्थीहरूलाई फेल बनाइदिएको जनाएका छन्।

उक्त प्रदर्शनमा सहभागी हुनेहरूमा सिमरनजीत कौर पनि थिइन्। उनले सन् २०२२ को मे महिनामा आफू दुई वर्षे मानव स्रोत र व्यापार व्यवस्थापन सङ्कायको अध्ययनका लागि क्यानडा आएको बताइन्।

भारतस्थित उनका प्रतिनिधिले आल्गोमा विश्वविद्यालयमा भर्ना हुन उनलाई सुझाव दिए।
सिमरनजित कौर भन्छिन् उनको विश्वविद्यालयका अधिकांश विद्यार्थी भारतीय मूलका छन् र त्यहाँ लगभग कोही पनि क्यानडेली विद्यार्थी छैनन्। हरिद्वार उत्तराखण्डकी उनले आफूले विश्वविद्यालयमा छात्रवृत्ति समेत पाएको उल्लेख गर्दै एउटा विषयमा फेल भएपछि आफू धेरै चिन्तित भएको बताइन्।

उनले आफूले सम्बन्धित शिक्षकलाई भेट्न प्रयास गरेको भएपनि उनले कसैसँग पनि भेट्न नमानेको बताइन्। त्यसपछि उनले विश्वविद्यालयको डिनसँग सम्पर्क गरेकी थिइन् तर उनीबाट पनि कुनै प्रतिक्रिया पाइनन्। त्यसपछि आफूहरूसँग आन्दोलन गर्नुबाहेक अन्य विकल्प नरहेको उनले बताइन्।

प्रदर्शनपछि विश्वविद्यालयले उनीहरूका कतिपय माग पूरा गरेको थियो। कतिपय विद्यार्थीहरू पास भएका थिए भने अन्य कतिपयलाई पुन परीक्षामा सहभागी हुने मौका दिइएको थियो।

सिमरनजीत कौरका अनुसार विश्वविद्यालय र कलेजहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पैसा कमाउने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्। उनले कलेजहरूले स्वेच्छाचारी ढङ्गले काम गरिरहेकाले विद्यार्थीहरू स्वयंले आफूलाई सङ्गठित बनाउनु परिरहेको बताइन्।

क्यानडामा विद्यार्थी युनियनहरूको उपस्थिति
विगतमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू त्यसमा पनि मूल रूपमा क्यानडामा रहेका भारतीय विद्यार्थीहरूको शोषणसँग जुझ्न कैयौँ संस्थाहरूले काम गरेका थिए। त्यसमध्येको एक ‘नौजवान सपोर्ट नेटवर्क’ पनि हो जुन केही वर्षअघि स्थापना भएको थियो।

यो संस्थाले मूल रूपमा ग्रेटर टोरन्टो क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीको हक हितका लागि काम गर्छ। ब्रिकमजित सिंह यो संस्थामा आबद्ध छन्। उनले बीबीसीसँग आफ्नो संस्थाले सामाजिक सञ्जालका माध्यमबाट काम गरिरहेको भन्दै सङ्गठन क्यानडामा दर्ता नभएको बताए।

सुरुमा आफूहरूले रेस्टुराँ र बेकरी सञ्चालकहरूले विद्यार्थीहरूलाई शोषण गरेको गुनासा पाएको भन्दै उनले कतिपय त्यस्ता गुनासा सफलतापूर्वक सम्बोधन गरिएको जनाए।

उनी स्वयं पनि विद्यार्थीकै हैसियतमा त्यहाँ पुगेका थिए। पञ्जाबको होसिआरपूर जिल्लाका ब्रिकमजीत सिंहले संस्थामा उजुरी आएपछि पहिला आफूहरूले जाँच गर्ने बताए। केही प्रमाण फेला परेको अवस्थामा मात्रै आफूहरूले सम्बन्धित व्यक्तिलाई सूचना पठाउने उनको भनाई छ। उनीहरूलाई १५ दिन आफ्नोतर्फको कुरा राख्न दिइने उनको भनाइ छ।
बिक्रमजीत सिंहका अनुसार विद्यार्थीको समस्यामा समाधान पहिल्याउन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिका घर वा कार्यालयबाहिर वा सार्वजनिक स्थानमा प्रदर्शनहरू गर्ने गर्छन्। यदि तपाईँले उक्त संस्थाको ट्विटर पेजमा हेर्नुभयो भने त्यस्ता प्रदर्शनहरूको सङ्ख्या उल्लेख्य बढेको पाइन्छ।

बिक्रमजीत सिंह अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मानसिक शोषण मात्र नभई कैयौँ अन्य अप्ठेराहरू पनि सामना गर्नु परेका बताउँछन्। यो संस्थाले प्राप्त गर्ने उजुरीका सङ्ख्या पनि बढेका छन्।

तर किन अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफूमाथि हुने दुर्व्यवहारबारे कानुनी कदम चाल्दैनन्रु विक्रमजीत सिंह भन्छन् उक्त प्रक्रियाका लागि समय लाग्छ र मानिसहरूलाई क्यानडाजस्तो देशमा त्यसका लागि समय छैन।

हालैका वर्षमा विद्यार्थीहरू ठगिएका यस्ता घटना बढेपछि भारतको केन्द्रीय र राज्य सरकारले यसबारे जनचेतना जगाउन कैयौँ कार्यक्रमहरू पनि गरेका छन्। क्यानडास्थित भारतीय उच्चायुक्त कार्यालयले सन् २०२२ मा एउटा एडभाइजरी जारी गरेको थियो जसमा शुल्क तिर्नुअघि शिक्षण संस्थाहरूको विस्तृत जाँच गर्न भनेको थियो।

क्यानडाका शैक्षिक संस्थाहरूमा जालझेल
गएको वर्षको अक्टोबरमा क्यानडाका आप्रवासन सम्बन्धी मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीहरू ठगहरूको सिकार भएको बताएका थिए।

उनको भनाई थियो, “कतिपय निजी संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट फाइदा उठाउँदै पर्याप्त सुविधा नदिने र उच्च शुल्क लिने अनि ठूलो सङ्ख्यामा विद्यार्थी भर्ना लिने कम स्रोतसाधन सम्पन्न क्याम्पसहरू सञ्चालन गरिरहेका छन्।”

क्यानडाका आप्रवासन मन्त्री मिलरले विद्यार्थीहरूले खेपिरहेको ठगी नियन्त्रण गर्न केही कदम चालेका छन्। उनले ठगी नियन्त्रण गर्न क्यानडाको आप्रवासन सम्बन्धी निकाय आईआरसीसीको अनुमोदनलाई बाध्यकारी बनाएको पनि उल्लेख गरे। उनले मान्यताप्राप्त संस्थाहरूलाई एउटा विशिष्ट खाका विकास गर्न पनि निर्देशन दिएका छन्।

क्यानडाको सरकारले हालैका वर्षहरूमा शुल्कमार्फत आम्दानी गर्नका लागि धेरै शिक्षण संस्थाहरूले व्यापक रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या बढाएको स्वीकार गरेको छ।

त्यसको परिणाम स्वरूप धेरै विद्यार्थीहरू उक्त देशमा पुगिरहेका छन्।

यसै वर्षको ज्यानुअरीमा क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भोगेका समस्या र देशका शैक्षिक पूर्वाधारले भोगिरहेका चापलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने निर्णय लिएको थियो।

क्यानडा सरकारले सन् २०२४ मा ३ लाख ६० हजार विद्यार्थीलाई प्रवेशको अनुमति दिने लक्ष्य निर्धारण गरेको छ। त्यसबाहेक निजी सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट वर्क परमिट जारी गरिनेछैन।
क्यानडामा शिक्षा सङ्घीय सरकारको नभई प्रान्तीय सरकारको क्षेत्राधिकार भित्र पर्छ। क्यानडाको ब्रिटिश कोलम्बिया सरकारले नयाँ विश्वविद्यालय, कलेज र अन्य संस्थाहरूमा दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लगाएको छ।

ब्रिटिश कोलम्बिया सरकारले शिक्षाको क्षेत्रमा कार्यरत संस्थाहरूले गरेका ठगीलाई ध्यान दिएर उक्त कदम चालिएको जनाएको छ।

तत्कालीन उच्चशिक्षा सम्बन्धी मन्त्री सेलीना रोबिन्सनले उनको मन्त्रालयले शिक्षा प्रणालीको पुनरवलोकन सुरु गरेको उल्लेख गर्दै शिक्षकको अभाव रहेको र गुणस्तर कमजोर रहेको पाइएको स्वीकार गरिन्। कतिपय विद्यार्थीलाई औपचारिक ढङ्गले उजुरी गर्न निरुत्साहित गर्ने हिसाबले धम्काइएका केही घटना पनि प्रकाशमा आएका थिए।

विज्ञहरूको धारणा
लामो समयदेखी ब्रह्याम्पटनमा कार्यरत वकिल हर्मिन्द्र सिंह डिल्लनका अनुसार केही वर्ष यता खुलेका कतिपय कलेजका डिग्रीको कुनै अर्थ छैन र तीनबाट रोजगारी पाउन सकिँदैन। कतिपय कलेजहरू मलहरूमा खुलेका छन्। केही कलेजका जम्मा एउटा कोठा छन् तर विद्यार्थीहरूले त्यहाँ अध्ययन गर्नका लागि प्रवेशाज्ञा पाएका छन्।

हर्मिन्द्रका अनुसार त्यसरी एजेन्ट र कलेजहरूबाट ठगिएका विद्यार्थीहरूले क्यानडा छाड्नुपर्ने हुनसक्छ र त्यो सङ्ख्या उच्च हनुसक्ने देखिन्छ। कसैले पनि विद्यार्थी भिसामा क्यानडा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई क्यानडाको नागरिकता सुनिश्चित गर्न सक्दैन।

सरकारी नियमहरूका अनुसार तपाईँले सर्तहरू पुरा गर्नुभयो भने पीआरका लागि आवेदन दिनसक्नुहुन्छ। उनले ठूलो सङ्ख्यामा विद्यार्थीहरू ओइरिएका भए पनि अझै क्यानडाले खोजेको दक्ष कामदार पाइनरहेको बताए। उनका अनुसार अध्ययनपछि विद्यार्थीहरूले अन्य रोजगारी रोज्दा यस्तो भएको हो।
जसवीर सिंह सामील क्यानडाको कानुनबारे पर्याप्त जानकारी नहुनु विद्यार्थीहरू क्यानडामा शोषणमा पर्नुको मुख्य कारण भएको ठान्छन्। भारत फर्काइने भयले विद्यार्थीहरू उजुरी गर्न डराइरहेको उनले बताए।

उनले भारतमा रहेका अभिभावकहरू आफ्ना छोरा छोरीले भोगिरहेका अप्ठेराबारे जानकार नरहेको बताए। वास्तविकता थाहा भए अभिभावकहरूले छोरा छोरी नपठाउने उनको तर्क छ।

विद्यार्थीहरू अवतरण भएदेखि नै त्यहाँ शोषण सुरू हुने उनले बताए। श्रम बजार मूल्याङ्कन पत्रका लागि पनि विद्यार्थीहरूबाट हजारौँ डलर असुली गरिन्छ। विदेशी कामदार भर्ना गर्न उक्त कागजपत्र रोजगारदातालाई आवश्यक पर्न सक्छ।

साभारः बीबीसी न्यूज नेपाली

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्