भोली जमरा राख्दा यी मन्त्र र विधी अपनाउनुहोस्

  • ख-
  • ख+

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं भोलिदेखि सुरु हुँदै छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिवार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

यही दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।

यसरी गर्नुस् पूजा

आश्विन शुक्ल प्रतिपदाको प्रातः कालको शुभमुहूर्तमा घटस्थापना गर्नुपर्छ । यसका लागि एउटा कतारोमा बालुवा लिएर त्यसमा जौ रोप्नुपर्छ । उत्तर कतारोमा जौका साथसाथै गंगाजल राखेर त्यसमा देवी भगवतीको आह्वान गरेर पूजन सम्पन्न गर्नुपर्छ ।

त्यो जौ दुई दिनपछि अंकुरका रूपमा प्रस्फुटित हुन्छ । त्यही अंकुर नै जमरा हो । जमरा अत्यन्तै पवित्र मानिन्छ ।

पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस् :

ॐ अपवित्र: पवित्रो वा सर्वावस्थां गतोsपि वा।

य: स्मरेत् पुंडरीकाक्षं स: बाह्याभ्यंतर: शुचि॥

ॐ पुनातु पुण्डरीकाक्ष: पुनातु पुण्डरीकाक्ष पुनातु॥

नमो दैव्यै महादेव्यै शिवायै सततं नम:।

नम: प्रकृतयै भद्रायै नियता: प्रणता: स्मताम॥

या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥

ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे॥

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्