भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा. पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको हो । डा. रजौरियाको संक्रमणका कारण मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिनुभयो ।
कपिलबस्तुका वासिन्दा डा. रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उहाँसँगै श्रीमती पनि कोभिड संक्रमित हुनुभएको थियो । श्रीमती डा. हसिना वानु संक्रमणमुक्त भएपनि डा. रजौरियाको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उहाँहरु दुवैजना सोही अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । श्रीमती वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुनुहुन्छ । प्रशासन प्रमुख गुरुङका अनुसार सो अस्पतालमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । (रातोपाटी)








