ए ! प्रशासकहरु खबरदार !

  • ख-
  • ख+

(साहित्यकार मेघराज आचार्य)

हो, सदियौंदेखि
लेखेर टाँगिएको छ
ठूला ठूला अक्षरहरूमा
आवेदन पेस गर्नुपर्ने ढाँचा
अनि तोकिए बमोजिमको
टिकट टाँस्नुपर्ने विषय
त्यसरी नै
उल्लेख गरिएको छ
दर्ता शुल्कको दर
सेवा लिन लाग्ने समय
अनि सेवाका लागि लाग्ने दस्तुर
धुम्रपान, मद्यपान
तथा
सुरक्षा घेरा सम्बन्धमा
जारी गरिएको छ
बन्देज र निषेधको
बाध्यात्मक व्यवस्था
तर
जब तिमीले
नागरिकहरूको
हैसियत, वर्ग, जात , आस्था, रङ्ग अनि लिङ्ग
तथा आफूले प्राप्त गर्ने
उपहार, चन्दा र सहुलियत मुताबिक
निर्धारण गर्दै आएका छौ
नागरिक सेवाको प्राथमिकता
सेवाको गुणस्तर
अनि त्यसैका आधारमा
सुनिश्चित गरेका छौ
सेवामा सर्वसाधारणको
पहुँच र तिम्रा जागिरेहरूको
तत्परता
यदि, भने
किन प्रष्ट रूपमा तोक्दैनौ
तिम्रो सेवा प्राप्त गर्न आवश्यक
नागरिकहरूको स्तर र हैसियत
तिम्रा सरकारी बिचौलियाहरूको
परिचय खुल्ने सक्कली हुलिया
अनि तिमीले हरेक दिन
वर्किङ टेवलमुनिबाट असुल गर्ने
थप दस्तुर बापतको रकमको दर
ए ! प्रशासक खबरदार !
आखिर कहिलेसम्म झुक्याउँछौ
नागरिकहरूलाई यसरी
अविलम्ब सच्याऊ तिम्रो
त्यो नागरिक बडापत्र
(मेघराज आचार्य तनहूँ दमौलीबाट)

(मेघराज आचार्यको फेसबुक पेजबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्