माधब नेपाल अनुशासनहिन भएको आरोप लगाउदै प्रवासबाट कार्यकर्ताको चिट्ठी

  • ख-
  • ख+

नेकपा एमालेका वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल ज्यू,
हार्दिक अभिवादन,
आराम छु, आराम चाहन्छु। यो पत्र लेख्दा सम्म म तपाइको पार्टीको एउटा कार्यकर्ता हुँ । विद्यार्थी जीवनबाट राजनीति यात्रा सुरु गरेको पनि आज दुई दशक पुरा भएछ सम्झँदा आङनै जिरिङ्ग हुने निर्दलीय परिवेश, सामाजिक असमानता र विभेदका बिचमा तपाईँहरूकै प्रेरणाले समाज बदल्ने अठोटका साथ यो पार्टीको आधारभूत तहदेखि सङ्गठित हुँदै क्रियाशील रहेको छु ।
आफ्नो योग्यता र क्षमताले भ्याएसम्म यो पार्टी निमार्णमा सकेको सहयोग गर्दै आएको छु ।आजको दिनसम्म आइपुग्दा पार्टीलाई दुरुपयोग गरेर कुनै फाइदा लिए पाएको पनि छैन ।पार्टीको एउटा सानो कार्यकर्ताको हैसियतले यो पार्टीको माध्यमबाट देशको रूपान्तरण हुन्छ भन्ने सोचेको थिए ।मलाई मेरो पार्टीका नेताहरूप्रति अद्भुत विश्वास थियो ।तर आज मेरो विश्वासले धोखा खाएकोले यो पत्र लेखेको हुँ । कुनै आग्रह पूर्वाग्रह राखेको पनि छैन जे देखे त्यही लेखेको छु ।
मैले तपाईलाई २०५० सालदेखि नै चिनेको छु । मेरो आस्था र विश्वासको धरोहरको रूपमा पार्टीको सर्वोच्च कमान्डर महासचिवको भूमिकामा तपाईले चौध वर्षसम्म यो पार्टीको नेतृत्व गर्नु भयो। यस बिचमा ठुला ठुला उत्तर चढावहरू आए । एकातिर राज्यसत्ताको चरम दुरुपयोग र अर्कोतर्फ राज्यसत्ता विरुद्ध विद्रोह भयो । थुप्रै कार्यकर्ताहरू सत्ता र विद्रोहीको चेपुवामा परेर ज्यान गुमाए । कैयन बालबालिका टुहुरा भए त कैयन काखहरू रित्ता भए । तपाईको नै नेतृत्वमा २०५१ को मध्यावधि निर्वाचनमा नेकपा एमाले संसदमा सबैभन्दा ठुलो दल भयो ।मनमोहनको नेतृत्वमा बनेको सरकार इतिहासमा नै लोकप्रिय रह्यो । २०५४ सालको स्थानीय निर्वाचनमा पार्टीले सानदार जित हासिल ग¥यो । तपाईकै नेतृत्वमा स्थानीय तहसम्म पार्टीको सङ्गठन बिस्तार, छ लाख भन्दा बढी कार्यकर्ता र एक्काइस लाख भन्दा बढी मतदाताहरूको मत पार्टीले आर्जन गरेको थियो ।
२०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पार्टी तेस्रो स्थानमा पुग्यो ।तपाई समेत पराजित हुनु भयो र तपाईँले पार्टी महासचिवको जिम्मेवारीबाट राजीनामा दिएर उच्च आदर्श प्रस्तुत गर्नु भयो । यहाँ सम्म आइपुग्दा धेरैले स्वाभाविकै मानेका थिए । तपाइको कार्यकालको अन्त्यतिर आई पुग्दा पार्टी अत्यन्तै कमजोर भई सकेको थियो ।संविधान सभाको निर्वचनमा दुवै स्थानबाट पराजित भएर पनि तपाईले जनादेश स्वीकार गर्न सक्नु भएन । पदको तीव्र अभिलासा पुरा गर्न शुशिल चन्द्र अमात्यलाई हटाएर संविधानसभा सदस्य हुँदै प्रधानमन्त्री समेत हुनु भयो ।लामो समयदेखिको तपाईँको सपना समेत पुरा भएको थियो ।आफूले नेतृत्व गरिरहेकै समयमा पाटी विभाजनको तितो अनुभव समेत बटुलेका नेताले अव पार्टीको असल अभिभावकत्व लिनु हुनेछ भन्ने हामीले सोचेका थियौ तर तपाईँमा पुन पार्टी प्रमुख बन्ने भोक जाग्यो ।
पार्टीको नवौँ महाधिवेशनमा आई पुग्दा तपाईँलाई सफल बनाउन निरन्तर सहयोगीको भूमिका निर्वाह गर्ने सहयोद्धा कमरेड खडग प्रसाद ओलीसंग प्रतिस्पर्धा गर्न पुग्नु भयो । पार्टी शिरदेखि तिर सम्म विभाजित भयो, तपाई पनि पराजित हुनु भयो ।निर्वाचनको परिणामलाई तपाईले स्वीकार गरेको देखिएन ।निरन्तर असहमति, असहयोगको गरिरहनु भयो । कमरेड केपी ओलीको नेतृत्वमा नेकपा एमाले र माओवादी केन्द्रको बिचमा एकता भयो । झन्डै दुई तिहाइको नजिकको जनमत प्राप्त भयो तर तपाईँले यस कुरालाई आत्मैदेखि स्वीकार गर्न सक्नु भए जस्तो देखिएन । तपाई केबल निराशा, कुण्ठा र प्रतिसोधको ज्वालामा जलिरहनु भयो । यो आरोप होइन, यथार्थता हो ।
आफ्नै पार्टीको प्रधानमन्त्रीको विरुद्ध संसदमा विष वमन गर्नु भयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको विरुद्ध अभियोग पत्र नै ड्राफ्ट गर्नु भयो, रडाको मच्चाउनु भयो । कमरेड प्रचण्ड र ओलीको बिचमा पर्खाल बनेर उभिनु भयो । नेता कार्यकर्ता बिचमा रहनु पर्ने सामान्य शिष्टता र सद्भावको ख्याल समेत गर्नु भएन । पार्टीको आन्तरिक जीवनमा मेल मिलाप र सद्भावको रक्तसञ्चार गर्नु पर्नेमा विवाद र झगडिया नेताको पहिचान बनाउनु भयो । पार्टीको विवाद समाधान गर्न समिति बनाउनु भयो तर विपक्षीसँग गठबन्धन गरेर पार्टीको विरुद्ध मतदान गर्न दुरुत्साहन गर्नु भयो ।आफ्नै पार्टीको प्रदेश सरकार गिराउन विपक्षीलाई मतदान गराउनु भयो । आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा अनुपस्थित बस्नु भयो ।संसदीय व्यवस्थाको सामान्य प्रचलनको पनि मर्यादा नराखी निर्दलीय चरित्र प्रर्दशर्न गर्नु भयो । तपाईको यो व्यवहार र राजनीतिक चरित्रबाट म जस्ता कार्यकर्ता र भावी सन्ततिलाई कस्तो प्रेरणा मिल्न सक्छ होला ?
वरिष्ठ नेता ज्यु, आज राजनीति तपाईहरूको हातबाट अदालत पुगेको छ । जनादेशको अपमान भएको छ । आज तपाई आफ्नो सम्मानको खातिर बदलाभको व्यवहार गरिरहनु भएको छ । तपाईलाई अहिले जितेको जस्तो लागेको होला ।यो केवल मुतको न्यानो मात्र हो । तपाइले अहिले केपी ओलीलाई सिद्ध्याउन जे प्रपञ्च गर्नु भएको छ यसको असर सबै भन्दा बढी तपाइलाई नै पर्छ । ओली र तपाई सँगै सकिने हो । इतिहासको सम्मान गर्नोस् ।तपाईहरूलाई नेता बनाउन धेरैले पसिना बगाएका छन् । रोजगारी गुमाएका छन् ।हामी जस्ता लाखौँ कार्यकर्ताहरूको जीवन सिद्धिएको छ ।पार्टी चलाउने कुरा सहमतिमा हुन्छ । झगडा गरेर जितिँदैन । अनुशासन हीनताबाट अराजकताको जन्म हुन्छ । तपाईले जुन प्रकारको अनुशासन हीनता प्रदर्शन गर्नु भएको छ यसले तपाईलाई मात्र होइन भोलिको राजनीतिलाई समेत असर परेको छ । सँगै बस्ने भए मिलेर बस्नोस् होइन भने एउटै घरमा बसेर आफ्नै परिवारका सदस्यहरूका विरुद दुष्कर्म गर्ने अधिकार तपाइलाई छैन अव झगडिया होइन राजनेता बन्नुहोस् । बैरिसंग मिलेर घरमा राँको लगाउने कार्य बन्द गर्नुहोस् । अव लड्डु बाँडेर होइन आस्था सहितको एकताबद्ध पार्टी निर्माणमा लाग्नुहोस् । यो नै कल्याणको बाटो हो ।
कमल तिम्ल्सिना / शिव राज खड्का
हाल नेकपा एमाले बिदेश संगठन ।
प्रवासी एकता मञ्च इजरायल । सदस्य ।

धन्यवाद
२०७८।०३।१२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?