(१ लाख ७७ रुपैया सहयोग गर्ने ईश्वर पौडेलको परिवार)
तनहूँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सञ्चालन गरेको सामुदायिक एम्बुलेन्स सेवा अभियानबाट उपशाखाले एम्बुलेन्स मात्र सञ्चालन नगरी रेडक्रसको संगठनलाई समेत विस्तार गरेको छ । गत भदौ १९ गते नेपाल रेडक्रस स्थापना दिवसबाट संचालन गरेको सो अभियानले यही असार २ गतेबाट एम्बुलेन्स सेवा प्रारम्भ गरिसकेको छ । करिब ३० लाख रुपैया संकलन गर्ने उद्देश्य लिएर दीर्घकालीन रुपमा सेवा सञ्चालन गर्ने योजनासहित संचालित उक्त अभियानले हालसम्म १९४ जना व्यक्ति तथा संस्थाहरुले २९ लाख १६ हजार ७७४ रुपैयाँ बराबरको प्रतिबद्धता सहित अधिकांशले नगद सहयोग समेत गरेको जनाइएको छ ।
सोही अभियानलाई ब्यास नगरपालिका वडा नम्बर १०, डिहिगाउँ निबासी सोही अभियानका संयोजक ईश्वर पौडेलले १ लाख ७७ रुपैयाँ सहयोग गर्नुभएको छ। निजलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले यसस्कर सदस्यताको लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रमा सिफारिस समेत गरिसकेको छ । हालसम्म अभियानमार्फत चार जना आजीवन सदस्य, व्यास नगरपालिका सहित ११ वटा संस्थागत सदस्य एवं १३ जना व्यक्तिहरु विशिष्ट सदस्य बन्नुभएको छ। रेडक्रसको बर्तमान विधानअनुसार २५ हजारभन्दा बढी सहयोग गर्ने संस्थालाई संस्थागत सदस्य र रु २५ हजार भन्दा बढी सहयोग गर्ने सबै व्यक्तिलाई विशिष्ट सदस्य तथा एकलाख भन्दा बढी सहयोग गर्ने व्यक्तिलाई यसस्कर सदस्य प्रदान गर्न सकिने प्राबधान छ । साथै उक्त अभियानले उक्त उपशाखा क्षेत्र भित्रका अधिकांश टोलविकास संस्थाहरु , आमा समुह , सामुदायिक वन उपभोक्ता समूह , बचत तथा ऋण सहकारी संस्थाहरुले मानवीय सेवामा सहभागिता जनाएको छ भने झण्डै १६० भन्दा बढी व्यक्तिहरुले सोस्फुर्त मानवीय सेवा अभियानमा सहभागिता जनाउनु, उक्त उपशाखा क्षेत्रमा मानविय सेवा भावको वृद्धि भएको कुरा उपशाखाका सभापति राम दत्त पौडेलले जनाउनुभयो। रेडक्रस जिल्ला शाखाका सभापति कृष्ण हरि वाग्लेले उपशाखाको यो एम्बुलेंस अभियान मात्र नभएर मानवीय अभियानको रुप रुप लिएको र यस कार्यले रेडक्रस अभियानलाई बास्तबमै विस्तार गरी प्रत्येक टोल टोलसम्म पुर्याएको महसुस भएको भनाइ राख्नु भयो।









