नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री(वितरण भइरहेको पाइएको छ।
प्रहरीले नेपालमा प्रतिबन्ध गरिएको इनर्जी ड्रिङ्स ठूलो परिमाणमा बरामद गरेको छ।
क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री(वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीले बजारबाट बरामद गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले मंगलबार न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको हो। अपराध अनुसन्धान कार्यालयका अनुसार कारोबारमा संलग्न चार जना व्यक्तिहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रविनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोंगबु बस्ने राजु पौडेल, शक्तिमाता स्टोर कपनका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका(१ घर भई हाल गोठाटार बसिरहेका वीरेन्द्र चौधरी छन्।
प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार चौधरी रेडबुल ओसारपसारमा संलग्न छन्। उनलाई बा२१च १२५ नम्बरको भ्यानसहित पक्राउ गरिएको कोइरालाले बताए।
२०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री(वितरणमा रोक लगाइएको छ।
तर, काठमाडौंमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरूमा त्यस्तो रेडबुल बिक्री भइरहेको पाइएको अनुसन्धान कार्यालयले जनाएको छ।
‘हामीले खाद्य तथा गुण नियन्त्रण विभागसँग परामर्श गरेका थियौं, सरकारले आयात प्रतिबन्ध गरिएको वस्तु भएकाले कारबाही गर्न मिल्ने सुझाव आएपछि रेडबुल बरामद गरेका हौं,’ कोइरालाले भने।
प्रारम्भिक अनुसन्धान अनुसार उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको छ। तराईका विभिन्न जिल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउने र भ्यान तथा रात्रि बसबाट काठमाडौंसम्म ल्याउने गरेको पाइएको प्रवक्ता कोइरालाले बताए।
यस्तो रेडबुलको कारोबार अन्य धेरै स्थानमा भइरहेको हुनसक्ने आशंकामा खोजी गरिरहेको छ।
पक्राउ परेका व्यक्तिहरूबारे अनुसन्धान भइरहेको अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले बताए। (सेतोपाटी)








