पौडेल पक्षीय जिल्ला सभापतिहरुको चेतावनीः क्रियाशील सदस्यता सार्वजनिक नगरे आन्दोलन

  • ख-
  • ख+

काँग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय नेतृत्वलाई दुई दिनभित्र क्रियाशील सदस्यताको विवरण सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । क्रियाशील सदस्यताको पारदर्शिताबारे आम चासो भएको भन्दै जिल्ला सभापतिहरूले शनिबार साँझ प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अबिलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरिएको काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए ।
७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रस्ट व्यवस्थाविपरीत निर्वाचन निर्देशिका जारीबारे आफूहरूको विरोध रहेको आचार्यले बताए । उनले भने, ‘अहिलेको निर्वाचन निर्देशिकामा महाधिवेशन प्रतिनिधि मात्र जिल्ला सभापतिको उम्मेदवार हुन पाउने व्यवस्था एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा फरक रहेकाले त्यसको विरोध गरेका हौं ।’

एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भने क्षेत्रीय प्रतिनिधि जिल्ला सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको उनले बताए । क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रूप प्रदान गर्न माग गरिएको छ । सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेछ ।

नेतृत्वले आफ्ना मागहरूलाई सम्बोधन गर्ने गरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भाद्र ८ गतेबाट केन्द्रीय कार्यालयमा धर्ना, अनशनलगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन आफूहरू बाध्य हुने उनले बताए ।

क्रियाशील सदस्यताको सवालमा वडा तहबाट निर्णय भइआएका नामहरू हटाउने, ठाडै केन्द्रबाट जथाभावी नामहरू थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरू इन्ट्री गर्नेजस्ता धाँधलीजन्य गतिविधि रोक्न जिल्ला सभापतिहरूले निरन्तर आग्रह गरिरहेको आचार्यको भनाइ छ ।

उनले भने, ‘यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन् पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक व्यक्तिको स्वार्थसिद्धी गर्न तथा लामो समयदेखि पार्टीमा रगत–पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौं संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरू भइरहेको छ ।’

कार्यतालिकाअनुसार गाउँ । नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ । नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ।

कांग्रेसले एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ। (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?