अपहरणमा परेका दुई युवकको भारतबाट उद्धार

  • ख-
  • ख+

मकवानपुर । मकवानपुरबाट अपहरणमा परेका दुई युवकलाई प्रहरीले भारतबाट उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको जनाएको छ ।

उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुबै जनालाई सकुशल उद्धार गरी आइतबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीका अनुसार, उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक रिमालले भने, ‘अपहरण मुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । अपहरण गर्नेहरु पनि चिनजानेकै हुन् । अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको देखिएको छ ।’

उनका अनुसार अपहरणकारीले उनीहरुसँग प्रतिव्यक्ति पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । फिरौती नपाए मिर्गौला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्धार गरिएको डीएसपी रिमालले बताए ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्