तनहुँ, म्याग्दे–२। ऋषिथुम टोल विकास संस्थाको आयोजनामा तथा उपकार तालिम केन्द्रको सहजीकरणमा एकदिने ‘नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन उपकार ट्रेनिङ सेन्टरका मुख्य प्रशिक्षक रामभक्त घिमिरेले गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि कल्पना परियारले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन समाजसेवी रणबहादुरले गरेका थिए ।

प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक घिमिरेले नेतृत्व विकास, सञ्चार कला तथा समाज रूपान्तरणका विषयमा प्रशिक्षण दिँदै पार्टीगत सोचभन्दा माथि उठेर गाउँ, समाज र राष्ट्रको हितलाई प्राथमिकता दिने नेतृत्वको आवश्यकता रहेको बताए। उनले नवप्रवर्तनशील सोच, स्पष्ट दृष्टिकोण र कार्यक्षमता भएका नेतृत्वलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा ध्यान (मेडिटेसन), प्रेरणादायी भिडियो प्रस्तुति तथा सामूहिक सङ्कल्पका कार्यक्रमसमेत समावेश गरिएको थियो। सहभागीहरूलाई सकारात्मक सोचको विकास, नकारात्मकता त्याग तथा सामूहिक रूपमा विकास निर्माणका कार्यमा प्रतिबद्ध बन्न प्रेरित गरिएको थियो। सो अवसरमा ठाँटी फोक्सिन डाँडा, पायर खोला नाला, काफ्लथोक–ऋषिथुम–दमसेरा रिङ रोड तथा भैंसीखार्क–ऋषिथुम खानेपानी योजनालगायत स्थानीय विकासका योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय बुद्धिजीवी सोमबहादुर थापाले यस्ता नेतृत्व विकाससम्बन्धी कार्यक्रमले समाजमा सकारात्मक सोच र चेतनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमलाई थप आकर्षक बनाउँदै चर्चित लोक तथा दोहोरी गायिका पार्वती खनाल घिमिरेले सन्देशमूलक तथा चेतनामूलक गीत प्रस्तुत गरेकी थिईन् ।

समापन समारोहमा ऋषिथुम टोल विकास संस्थाका अध्यक्ष कमलजंग थापाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा युवा तथा बालबालिकाहरूका लागि व्यक्तित्व विकास, नेतृत्व तथा क्षमता अभिवृद्धिसम्बन्धी यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले ऋषिथुम टोललाई नमुना टोलका रूपमा विकास गर्ने लक्ष्यसहित समुदायको सक्रिय सहभागितामा अघि बढ्ने सङ्कल्पसमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा टोलवासी, स्थानीय अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।