विद्यालय भाैतिक रुपमै खुलाउने व्यास नगरपालिकाको तयारी

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाले १३ भदौदेखि विद्यालय खुलाउने तयारी गरेको छ । विद्यालय खुलाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय व्यास नगरपालिकाले गरेको हो ।

स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम भरसक अनलाइन कक्षा र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा विद्यालय खुलाएर प्रत्यक्ष विधिबाट पठनपाठन सञ्चालन गर्न कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय कार्यपालिका बैठकले गरेको व्यास नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

‘प्रत्यक्ष कक्षा चलाउँदा २५ जनाभन्दा बढी विद्यार्थी कक्षामा रहने छैनन् । स्वास्थ्यको मापदण्ड पनि पूर्णरुपमा पालना गर्ने सर्तसहित सिफारिस गरेका छौँ’, उहाँले भन्नुभयो ।
विद्यालय खुले पनि भर्चुअल कक्षालाईसमेत निरन्तरता दिइने श्रेष्ठको भनाइ छ । उनले भने, ‘विद्यार्थी आलोपाले कक्षामा उपस्थित हुनेछन् । घरमा बसेका विद्यार्थीलाई अनलाइन कक्षा पनि चल्नेछ ।’

व्यासमा सामुदायिक र निजी गरेर एक सय २० विद्यालय सञ्चालनमा छन् । विद्यालयलाई प्रविधिमैत्री बनाउन १ लाख रुपैयाँका दरले उपलब्ध गराउने उनले जानकारी दिए । हालसम्म नगरपालिकामा प्रस्ताव पेस गरेका ४९ विद्यालयलाई प्रविधिमैत्री बनाउन १ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन कार्यापालिका बैठकले निर्णय गरेको श्रेष्ठ बताउँछन् । नगरपालिकामा ७५ सामुदायिक विद्यालय सञ्चालित छन् ।

वैशाखमा दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लाभरका विद्यालय बन्द भए । साउन तेस्रो साता जोखिम कायमै रहेका बेला पनि व्यासमा केही विद्यालय विद्यालय खुलेका थिए । जिल्ला प्रशासनले फेरि बन्द गर्न उर्दी जारी गरेसँगै बन्द भए । अहिले बजार क्षेत्रका विद्यालयले अनलाइन कक्षा चलाए पनि गाउँका विद्यार्थी भने पढाइबाट वञ्चित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?