काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख, जुझारु युवा नेता तथा समाजसेवी दिलेन्द्र प्रसाद जोशी ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
रास्वपाले देशबाहिर रहेका नेपालीहरूलाई राष्ट्र निर्माणको अभियानमा जोड्ने उद्देश्यका साथ प्रवास नेपाली सम्पर्क विभाग गठन गर्ने अवधारणा अघि सारेको थियो। सोही अभियानअन्तर्गत पहिलो प्रवास संगठनका रूपमा जापानमा विभाग गठन भएको थियो, जसको नेतृत्व दिलेन्द्र जोशीले गर्नुभएको थियो।
पार्टी स्थापनाको प्रारम्भिक चरणमा संगठन निर्माण सहज नभएको अवस्थामा पनि जापानजस्तो व्यस्त मुलुकमा आफ्नो पेशागत जिम्मेवारीसँगै संगठन विस्तारमा उहाँ निरन्तर सक्रिय रहनुभयो। जापानका विभिन्न क्षेत्रमा पुगेर संगठन विस्तार गर्नुका साथै रास्वपाको विचार र उद्देश्य जापानवासी नेपालीमाझ पुर्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताइन्छ।
जापानबाट सुरु भएको प्रवास नेपाली सम्पर्क विभागको अभियान विस्तार हुँदै विश्वका ५० भन्दा बढी देशमा संगठन गठन भएको छ। ती संगठनहरूको स्थापना तथा समन्वयमा समेत जोशीको उल्लेखनीय योगदान रहेको बताइन्छ।
यसैबीच, पार्टी सभापतिविरुद्ध विभिन्न समयमा राजनीतिक प्रतिशोधका रूपमा मुद्दा दर्ता भएको भन्दै जापानस्थित प्रवासी नेपाली समुदायले हस्ताक्षर संकलन, नेपाली राजदूतावासमार्फत ज्ञापनपत्र बुझाउने तथा विभिन्न विरोध कार्यक्रम आयोजना गरेका थिए। ती गतिविधिको नेतृत्व र समन्वयमा पनि दिलेन्द्र जोशीको सक्रिय भूमिका रहेको सहभागीहरूको भनाइ छ।
रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दै जोशीले प्रवासमा रहेका नेपालीको अनुभव, क्षमता र योगदानलाई पार्टीको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँका समर्थकहरूले प्रवास संगठन निर्माण, नेतृत्व क्षमता र लामो समयदेखिको सक्रिय योगदानका आधारमा जोशी केन्द्रीय सदस्यका लागि सक्षम उम्मेदवार रहेको दाबी गरेका छन्। साथै, महाधिवेशनका मताधिकार प्राप्त प्रतिनिधिहरूले योग्य, अनुभवी र पार्टीप्रति समर्पित नेतृत्व छनोट गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।









