दमौली, साउन ६। बीपी विचार समाज तनहुँको आयोजनामा ४४औँ बीपी स्मृति दिवसका अवसरमा “नेपालको समसामयिक राजनीतिक सन्दर्भ र बीपीवादको सान्दर्भिकता” विषयक एकदिने विचार गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ।
समाजका सभापति प्रताप सिंह अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभापति हरिशरण पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पण्डितले जननायक बीपी कोइराला नेपालका मात्र नभई तत्कालीन विश्व समाजवादी आन्दोलनका प्रभावशाली नेतामध्ये एक भएको उल्लेख गर्नुभयो। उहाँले बीपीले नेपालको राजनीतिक इतिहासमा राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादलाई स्पष्ट वैचारिक आधार प्रदान गरेको बताउँदै आजको राजनीतिक परिस्थितिमा बीपीवादको आवश्यकता झन् बढ्दै गएको धारणा राख्नुभयो।
गोष्ठीमा शिक्षक संघका पूर्व अध्यक्ष कमलभक्त पोखरेलले नेपाल अहिले राजनीतिक अस्थिरता, वैचारिक विचलन, सुशासनको अभाव, भ्रष्टाचार, युवापलायन, बेरोजगारी र जनविश्वासको संकटबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा बीपीले अघि सारेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, नैतिक राजनीति, विधिको शासन र जनउत्तरदायी शासन व्यवस्थाका सिद्धान्तहरू अत्यन्तै सान्दर्भिक बनेका छन्।” उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष प्रताप सिंह अधिकारीले प्रजातन्त्रलाई केवल निर्वाचन सम्पन्न गर्ने व्यवस्थाका रूपमा नभई नागरिक स्वतन्त्रता, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, जिम्मेवार सरकार र सामाजिक न्यायसहितको जीवनपद्धतिका रूपमा व्याख्या गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार लोकतन्त्र बलियो हुन राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र, नैतिक नेतृत्व र जनताप्रतिको उत्तरदायित्व अपरिहार्य हुन्छ।
उहाँले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद राज्य नियन्त्रणको समाजवाद नभई उत्पादन, उद्यमशीलता र निजी क्षेत्रलाई सम्मान गर्दै राज्यले सामाजिक न्याय, समान अवसर, शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने अवधारणा भएको स्पष्ट पार्नुभयो। वर्तमान समयमा बढ्दो आर्थिक असमानता, बेरोजगारी र अवसरको असन्तुलन अन्त्य गर्न पनि बीपीको यही दृष्टिकोण उपयोगी हुने उहाँको भनाइ थियो।
समाजका वरिष्ठ सदस्य रुद्रनिधि नैनावस्ती, इन्द्रबहादुर दरै,सोलबहादुर चितौरे क्षेत्र नं. १ का सभापति केशरबहादुर गुरुङ लगायतले नेपालको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास, सुशासन, सामाजिक उत्तरदायित्व तथा बीपीको वैचारिक योगदानका विषयमा आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले राजनीतिक दलहरूले वैचारिक स्पष्टता, नैतिक आचरण र जनउत्तरदायित्वलाई प्राथमिकता दिन नसक्दा लोकतन्त्रप्रति जनविश्वास कमजोर हुँदै गएको उल्लेख गर्दै बीपीको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा जननायक बीपी कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा पुष्पार्पण गरिएको थियो। साथै, कोइरालासहित लोकतन्त्र र राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रमको सञ्चालन बीपी विचार समाजका सदस्य कृष्णप्रसाद सोतीले गर्नुभएको थियो। भने कार्यक्रममा स्वागत मन्तव्य समाजका उपसभापति क्याप्टेन रेशम बहादुर गुरुङले गर्नुभएको थियो ।









