तनहुँ, भदौ ४ गते। तनहुँमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएको भन्दै नेपाली कांग्रेस तनहुँका युवा नेता एवं जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रवक्ता गल गुरुङ्गले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
गुरुङ्गले सर्वसाधारणले घण्टौँसम्म लाइनमा बस्दा समेत ग्यास पाउन नसक्ने अवस्था सिर्जना भएको भन्दै ग्यासको वास्तविक आपूर्ति अवस्था र वितरण प्रणालीबारे तत्काल अनुगमन तथा छानबिन गर्न माग गरेका छन् ।
ग्यासको अभावका कारण नियमित रूपमा ग्यास बिक्री गर्ने खुद्रा विक्रेताले समेत ग्यास उपलब्ध नभएको बताउने गरेको उल्लेख गर्दै बजारमा वास्तवमै ग्यासको अभाव भएको हो वा वितरण प्रणालीमा समस्या, अनियमितता अथवा कृत्रिम अभाव सिर्जना गरिएको हो भन्ने विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको गुरुङ्गको भनाइ रहेको छ।
गुरुङ्गले सामाजिक संजालमा लेखेको स्दस्टाटसमा बजारमा पर्याप्त मात्रामा ग्यास भित्रिरहेको छ भने सर्वसाधारणले सहज रूपमा ग्यास किन पाउन सकेका छैनन् भन्ने प्रश्नसमेत उठाइएको छ। होटल, रेस्टुरेन्ट तथा पहुँच भएका व्यक्ति वा संस्थाले पटकपटक ग्यास प्राप्त गर्ने तर आम उपभोक्ता एउटा सिलिन्डरका लागि समेत घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिएको छ।
ग्यास लुकाएर राख्ने, अनावश्यक रूपमा स्टक गर्ने वा पहुँचका आधारमा वितरण गर्ने कार्य भइरहेको छ कि छैन भन्ने विषयमा सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ तथा ग्यास वितरकले प्रभावकारी अनुगमन गर्नुपर्नेमा पनि गुरुङ्गले दिएका छन् ।
केवल कागजी विवरण र आपूर्ति भएको तथ्याङ्कका आधारमा अनुगमन पूरा भएको मान्न नहुने भन्दै ग्यास कहाँबाट आयो, कहाँ गयो, कसलाई कति वितरण भयो र आम उपभोक्ताले किन सहज रूपमा पाउन सकेनन् भन्ने विषयमा वितरण प्रणालीको तहसम्म पुगेर पारदर्शी छानबिन गर्न माग गर्न, अत्यावश्यक वस्तुका लागि सर्वसाधारणलाई घण्टौँसम्म लाइनमा बस्न बाध्य पारेर सरोकारवाला निकाय मौन बस्न नहुने उल्लेख गर्दै अनुगमन गर्ने जिम्मेवारी राज्यका निकायको भएकाले नागरिक तथा युवालाई सडकमा उतार्ने अवस्था सिर्जना गर्न नहुने गुरुङ्गको भनाई रहेको छ।
तनहुँमा देखिएको ग्यास अभावको वास्तविक कारण तत्काल सार्वजनिक गर्न, वितरण प्रणालीको कडाइका साथ अनुगमन गर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा पहुँचका आधारमा असमान वितरण गर्ने जोसुकैलाई कारबाही गर्न माग गर्न र आम उपभोक्ताले सहज रूपमा एलपी ग्यास पाउने व्यवस्था सुनिश्चित गर्दै जनताको चुलोसँग जोडिएको विषयमा कुनै पनि प्रकारको खेलाँची, मिलेमतो वा पहुँचका आधारमा हुने वितरण स्वीकार्य नहुने गुरुङको भनाई रहेको छ ।









