दमौली, साउन २२ — एलायन्स क्लब अफ तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी चालकहरूले सडकका जोखिमयुक्त स्थान, सवारी साधनको गति सीमा, दुर्घटनाका प्रमुख कारण तथा तिनको न्यूनीकरणका उपायबारे आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा संकलित तथ्य तथा सुझावलाई आगामी दिनमा सडक सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रमका समन्वयक तथा एलायन्स क्लब अफ तनहुँका अजित पन्थले सुरक्षित सडक, जिम्मेवार चालक र दुर्घटनारहित यात्राको सुनिश्चितताका लागि सम्बन्धित निकाय, चालक तथा सरोकारवालाबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

“सुरक्षित चालक, सुरक्षित यात्रा, सुरक्षित जीवन” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा सडक सुरक्षाप्रति चालक तथा सरोकारवालाको सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ। साथै, यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ।