तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का सांसद ई. श्रीराम न्यौपानेले आयोजना गरेको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ। सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी शनिबार शुक्लागण्डकी नगरपालिकाको सभा हलमा आयोजना गरिएको प्रदर्शनीमा ३३ विद्यालयका करिब ४ सय विद्यार्थी सहभागी भएका थिए।

विद्यार्थीलाई विज्ञान तथा प्रविधिसँग जोड्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा एआई (AI), ड्रोन सञ्चालनसम्बन्धी तालिम तथा रोबोटको प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा काठमाडौंँबाट आएका युवा वैज्ञानिक ई. शम्भु आचार्यको नेतृत्वमा सहभागी टोलीले विभिन्न प्रकारका रोबोट प्रदर्शन गर्नुका साथै विद्यार्थीका जिज्ञासाको जवाफ दिएका थिए।

रोबोट प्रदर्शनले विद्यार्थीलाई मनोरञ्जनसँगै विज्ञान र प्रविधिबारे व्यवहारिक ज्ञान हासिल गर्ने अवसरसमेत दिएको थियो। आफ्नै घरआँगनमा नेपालकै उत्कृष्ट रोबोट प्रदर्शनी हेर्न तथा त्यसमा सहभागी हुन पाउँदा आफूहरूले नयाँ कुरा सिक्ने अवसर पाएको विद्यार्थीहरूले बताएका थिए।

कार्यक्रममा सांसद ई. श्रीराम न्यौपानेले आफू निरन्तर सामुदायिक विद्यालयको शैक्षिक सुधार र विद्यार्थीलाई प्रविधिमैत्री बनाउने अभियानमा लागिरहेको बताउनुभयो। विज्ञान तथा प्रविधिको क्षेत्रमा भइरहेको तीव्र विकाससँग विद्यार्थीलाई परिचित गराउन यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो।

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले सांसद न्यौपानेले आयोजना गरेको विज्ञान प्रदर्शनीबाट विद्यार्थीले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो। उहाँले विद्यालय तहबाटै विद्यार्थीलाई विज्ञान तथा प्रविधिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।

त्यस्तै, शुक्लागण्डकी–८ स्थित गाउँफर्कोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विमल सिग्देलले सांसद न्यौपानेले विज्ञान प्रदर्शनीमार्फत विद्यालय र विद्यार्थीलाई नयाँ बाटो देखाएको बताउनुभयो। उहाँले अब आफूहरूले पनि विद्यार्थीलाई विज्ञान तथा प्रविधिसम्बन्धी तालिम दिने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले रोबोट, एआई र ड्रोनजस्ता प्रविधिबारे प्रत्यक्ष रूपमा जानकारी लिन पाउँदा निकै उत्साहित भएको बताएका थिए। उनीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन्।

शुक्लागण्डकीमा आयोजित उक्त विज्ञान प्रदर्शनीमा ३३ वटा सामुदायिक विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहेको थियो।