असार १६ – म्याग्दे गाउँपालिका-५ वडा कार्यालयको सहयोग तथा परिवर्तनका लागि मिडियाको आयोजनामा
महिलाहरूका लागि तीनदिने ‘नेतृत्व विकास, क्षमता अभिवृद्धि र बजार प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिका’
विषयक तालिम आजबाट सुरु भएको छ।
तालिमको उद्घाटन म्याग्दे गाउँपालिका-५ का वडा अध्यक्ष शिवबहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता वडा सदस्य तथा म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य चिनूमाया थापाले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष आलेले महिलाको नेतृत्व क्षमता, उद्यमशीलता र डिजिटल सीप
विकासका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक सञ्जालको सही प्रयोगमार्फत
स्थानीय उत्पादनको बजारीकरण, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा उल्लेखनीय टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष चिनूमाया थापाले महिलाहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नो व्यक्तिगत
तथा सामुदायिक विकासमा उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले तालिमले महिलाहरूको आत्मविश्वास वृद्धि गर्नुका
साथै नेतृत्वदायी भूमिका निर्वाह गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य लोकेन्द्र गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागी महिलाहरूलाई तालिमबाट
अधिकतम ज्ञान र सीप हासिल गरी आफ्नो जीवनोपयोगी बनाउन आग्रह गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा सञ्चार तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, नेतृत्व विकास, क्षमता
अभिवृद्धि, व्यक्तिगत व्यक्तित्व विकास, स्थानीय उत्पादनको बजारीकरण तथा डिजिटल माध्यमबाट व्यवसाय
प्रवर्द्धनलगायत विषयमा प्रशिक्षण दिइनेछ ।