असार ५ — म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पारित गरेको छ।
गाउँसभाबाट सर्वसम्मत रूपमा पारित नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको हो। “आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नारालाई आत्मसात गर्दै नीति तथा कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विस्तार, सिंचाइ सुविधाको विकास, ग्रामीण सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, पर्यटन प्रवर्द्धन तथा स्थानीय उद्यम विकासलाई विशेष प्राथमिकता दिइएको छ। साथै स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ।
त्यसैगरी गुणस्तरीय शिक्षा, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै दिगो विकास र समृद्धि हासिल गर्ने उद्देश्यले नीति तथा कार्यक्रम तयार गरिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले पारित नीति तथा कार्यक्रमले गाउँपालिकाको समग्र विकासलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीचको सहकार्यबाट नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँसभाबाट पारित नीति तथा कार्यक्रमलाई समयमै, पारदर्शी र प्रभावकारी ढंगले कार्यान्वयन गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।