तनहुँ, भदौ २२। म्याग्दे गाउँपालिका ले आर्थिक वर्ष २०८०/०८१ मा सामाजिक सुरक्षा भत्ताअन्तर्गत रु. १२ करोड ७५ लाख ४५ हजार ७१० वितरण गरेको जनाएको छ। गाउँपालिकाले उक्त अवधिमा १३ हजार ८३७ जना विभिन्न वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार ७ हजार ३६३ जना ज्येष्ठ नागरिक लाई रु. ८ करोड ७४ लाख ४६ हजार २४४ तथा १ हजार ४७३ जना अन्य ज्येष्ठ नागरिक लाई रु. १ करोड १६ लाख ५ हजार ७१६ भुक्तानी गरिएको छ। त्यसैगरी, १ हजार ६ जना एकल महिला लाई रु. ७९ लाख ४४ हजार ६१२ र १ हजार ६२६ जना विधवा महिला लाई रु. १ करोड २८ लाख ७१ हजार ७४० वितरण गरिएको उहाँले जानकारी दिनुभयो। बालबालिका तथा अपाङ्गता भएका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्तामार्फत सहयोग गरिएको छ। गाउँपालिकाले १ हजार ७४० जना बालबालिका लाई रु. २६ लाख ९१ हजार ८०१, पूर्ण अशक्त (क वर्ग) का १८० जना लाई रु. २१ लाख ५४ हजार ६०० तथा अति अशक्त (ख वर्ग) का ४४९ जना लाई रु. २८ लाख ३० हजार ९९६ भत्ता उपलब्ध गराएको जनाएको छ। गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ का अनुसार सामाजिक सुरक्षा कार्यक्रमसँगै विकास तथा वातावरण संरक्षणका क्षेत्रमा पनि उल्लेखनीय काम गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले १ हजार ८०० बिरुवा रोपण गरेको तथा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत १ हजार ५०० घरधुरीमा खानेपानी सेवा विस्तार गरिएको उहाँले बताउनुभयो। सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरणसँगै आधारभूत सेवा विस्तार र वातावरण संरक्षणका कार्यक्रमलाई समानान्तर रूपमा अघि बढाउँदै गाउँपालिकाले नागरिकको जीवनस्तर सुधारमा प्राथमिकता दिएको जनाएको छ।