१५ जेठ, काठमाडौं । नेपालमा २००८ सालमा पहिलो बजेट सार्वजनिक भयो । सुवर्ण शमशेरले सार्वजनिक गरेको पहिलो बजेटको आकार ५ करोड २५ लाख थियो ।
दस्तावेज केलाउँदा आर्थिक वर्ष २०१५/१६ सालयताका बजेटमा चालु र विकास बजेट छुट्याएर व्यवस्थित आउन सुरु गरेको देखिन्छ । नीति अनुसन्धान प्रतिष्ठान र अर्थ मन्त्रालयले सार्वजनिक रूपमा राखेका दस्तावेज अनुसार पनि त्यसभन्दा अगाडिका बजेटमा साधारण र विकास खर्चलाई ठोस छुट्याएर राख्ने गरेको पाइँदैन ।
साथै, २००८ सालमा पहिलो बजेट आएपछि केही साल बजेट प्रकाशित भए पनि त्यसको रूप यथार्थ नभएको विषय आव २०१३/१४ सालको बजेट भाषणमै उल्लेख छ ।
सोही बजेटले स्वीकार गर्दै भनेको छ, ‘यथार्थ वैज्ञानिक तरिकाले बजेट तयार गर्न उपयुक्त साधन र तरिका हाम्रो प्रशासकीय यन्त्रमा आज पनि पूर्णरूपमा तयार भइसकेको छैन ।’
मोरु र भारुमा आम्दानी र खर्च अनुमान
आव २०१३/१४ को बजेट भाषण केलाउँदा २०१२/१३ सालको आम्दानी र खर्चको अनुमान समेत गरिएको पाइन्छ । यी दुई सालका बजेटमा खर्च र आम्दानीको अनुमान नेपाली रुपैयाँ र भारतीय रुपैयाँ दुवैमा गर्ने गरेको पाइएको छ ।
२०१२/१३ मा सामान्यतर्फ मोरु १ करोड ३७ लाख ५१ हजार र भारुमा २ करोड ७६ लाख ६९ हजार आम्दानी हुने अनुमान गरिएको छ । खर्च भने मोरुमा ३ करोड ३६ लाख १२ हजार र भारुमा २ करोड ४३ लाख ४० हजार हुने अनुमान गरिएको छ ।
सोही वर्ष विशेष बजेटको आम्दानी र खर्चसमेत अनुमान गरिएको छ । यसले वर्तमान बजेट प्रणालीको स्वरूप अझै नलिइसकेको अवस्था थियो ।
२०१६ सालमा जननिर्वाचित सरकार आइसकेपछि भने बजेट भाषणले व्यवस्थित रूपमा लिएको देखिन्छ । सोहीकारण यहाँ हामीले सुरुवाती चरणमा बजेटको आकार निश्चित भएका वर्षहरूको मात्र यथार्थ तथ्यांक प्रस्तुत गरेका छौं ।













