मंसिर ५। व्यास नगरपालिका ले आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक अवधिमा सम्पन्न भएका कार्यक्रम, विकास आयोजना, सुशासन र सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखा को आयोजनामा शुक्रबार नगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीबीच सेवा प्रवाहका विषयमा खुला छलफल भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपाने ले पारदर्शी प्रशासन र समुन्नत नगरपालिका निर्माणका लागि नगरवासीको साथ, सहयोग र रचनात्मक सुझाव आवश्यक रहेको बताउनुभयो। उहाँले नीति, विधि र सुशासनलाई आत्मसात् गर्दै प्रभावकारी तथा पारदर्शी सेवा प्रवाहमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “नागरिकबाट प्राप्त गुनासो र सुझावलाई तत्काल सम्बोधन गर्ने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ,” उहाँले भन्नुभयो। साथै, नगरपालिकाले गरेका सकारात्मक कामहरूको पर्याप्त प्रचारप्रसार हुन नसकेकोमा पनि उहाँले ध्यानाकर्षण गराउनुभयो। उपप्रमुख इन्दिरा दरै ले सार्वजनिक सुनुवाईलाई नागरिकका गुनासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने उत्कृष्ट अभ्यासको रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार नगरवासीबाट प्राप्त सुझावले आगामी नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्नेछ। सार्वजनिक सुनुवाईका क्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल ले चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले संघ, प्रदेश र स्थानीय तहबीचका कानुनी जटिलताका कारण कर्मचारी व्यवस्थापनमा केही चुनौती देखिएको बताउँदै करार कर्मचारीको व्यवस्थापन संघीय नीतिअनुसार गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। कार्यक्रममा १४ वटै वडाका सेवाग्राहीलाई लक्षित गरी सेवा प्रवाह सम्बन्धी मत सर्वेक्षणसमेत गरिएको थियो। सर्वेक्षणमा सहभागी अधिकांश सेवाग्राहीले व्यास नगरपालिकाको सेवा प्रवाह विगतको तुलनामा थप सेवाग्राहीमैत्री बन्दै गएको प्रतिक्रिया दिएका थिए। सार्वजनिक सुनुवाईका क्रममा हरिमाया विक, ईश्वर पन्थ, मदन पौडेल, कविराज श्रेष्ठ, शंकरराज नहर्की, सन्त नेपाली, विष्णुबहादुर अधिकारीलगायतले पारदर्शी सुशासन, प्रभावकारी सेवा प्रवाह र जवाफदेही प्रशासनको आवश्यकता औँल्याएका थिए। कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष प्रताप रानाले गर्नुभएको थियो भने कोषाध्यक्ष पूर्ण विकेले सेवा प्रवाहसम्बन्धी मत सर्वेक्षणको नतिजा सार्वजनिक गर्नुभएको थियो। यसपटकको सर्वेक्षणलाई थप विश्वसनीय बनाउन सहभागीहरूको नाम, ठेगाना, सम्पर्क नम्बर, हस्ताक्षर र तस्बिरसमेत अभिलेखीकरण गरिएको जानकारी दिइएको थियो। नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डीपी अधिकारी ले नगरवासीका गुनासा सम्बन्धित जनप्रतिनिधि र कर्मचारीसमक्ष पुर्याई सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगरपालिकाको सहकार्यमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताउनुभयो।












