१२ मंङ्सिर । तनहुँ । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि निरन्तर सञ्चालनमा ल्याइएको छ ।
किसानबाट उत्पादित एक सय ६१ बोरा बीउ आलु र खायन आलु परीक्षणको रुपमा भण्डारण गरिएकोमा परीक्षण सफल भएकाले निरन्तर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
करीब तीन रोपनी क्षेत्रफलमा एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
किसानका आलु नगरपालिकाले निःशुल्क रुपमा कृषि,पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण गरिएको हो ।”
व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए अनुसार प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु १९ लाख ९८ हजार ६२७ वृद्वि भई करसहित रु एक करोड ९१ लाख ३२ हजार ७२२ पुगेको छ ।
विद्युत् ट्रान्समिटर जडान कार्यमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन एक वर्ष ढिला भएको थियो । वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको हो ।
अबदेखि व्यास नगरपालिकामा उत्पादन भएका आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्णरूपमा भण्डारण गरी राख्न सकिने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताउनुभयो ।
नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने भएको छ । व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिने भएको छ ।
चिस्यान केन्द्र संचालनमा ल्याइएसंगै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषि उपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेषगरी आलु, सागसब्बी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।












