१७ असार, तनहुँ। भानु नगरपालिकाले आगामी साउन १ गतेदेखि मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा ल्याउने भएको छ। सेवा सुरु भएसँगै नगरवासीले जग्गा प्रशासनसँग सम्बन्धित अधिकांश कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट विस्तार गर्ने उद्देश्यले देशभरबाट प्रस्ताव पेश गरेका २१४ पालिकामध्ये पहिलो चरणमा ३५ वटा पालिका छनोट गरेको थियो। तीमध्ये तनहुँको भानु नगरपालिका पनि परेको हो। नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ र साउन १ गतेदेखि औपचारिक रूपमा सेवा प्रवाह गरिनेछ। नगर कार्यपालिकाको बैठकले वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई मालपोत शाखा प्रमुखको जिम्मेवारी तोकिसकेको नगर उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो। नगरपालिकामा भूमि शाखा स्थापना भइसके पनि केही प्राविधिक तयारी पूरा गर्न बाँकी रहेको छ। शाखा प्रमुख पाण्डेका अनुसार थ्री–फेज विद्युत् मिटर जडानलगायत केही सामान्य व्यवस्थापनका काम अन्तिम चरणमा छन्। सेवा सञ्चालनका लागि मालपोत कार्यालय तनहुँले आवश्यक कर्मचारीको नामसमेत सिफारिस गरिसकेको स्रोतले जनाएको छ। तयारी पूरा भएसँगै एक जना कर्मचारी नगरपालिकामा खटाइनेछ। मालपोत तथा नापीसम्बन्धी सेवा सुरु भएपछि नगरवासीले जग्गा किनबेच र लिखत पास, अंशबण्डा, बकसपत्र तथा दानपत्र दर्ता, घरजग्गा रोक्का तथा फुकुवा, धितो राख्ने र फुकुवा गर्ने, लालपुर्जा विवरण सच्याउने, मालपोत कर तिर्ने, जग्गाको नक्सा, स्रेस्ता र कित्ता विवरण प्राप्त गर्ने, कित्ताकाट तथा जग्गा एकीकरण, मोही, गुठी तथा सरकारी जग्गासम्बन्धी प्रक्रिया तथा डिजिटल अभिलेख र अनलाइन सेवासम्बन्धी सहायताजस्ता सेवा नगरपालिकाबाटै प्राप्त गर्न सक्नेछन्। स्थानीय तहबाटै मालपोत सेवा उपलब्ध भएपछि सेवा प्रवाह थप सहज, छिटो र नागरिकमैत्री बन्ने विश्वास नगरपालिकाले लिएको छ।