रूपन्देही । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली बँदेल नियन्त्रणका लागि थापिएको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले आफ्नो बारीमा बिजुली प्रवाह गरी विद्युतीय धराप राखेका थिए। मंगलबार मध्यराति करिब १ः३० बजे उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी बँदेल परेको आशंकामा बारीमा जाँदा धरापमा परेर गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइए पनि चिकित्सकले बिहान ३ः२५ बजे उनलाई मृत घोषणा गरेका थिए।

विद्युतीय धराप राख्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ।