१७ असार, काठमाडौं । दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा साहलाई दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले सदर गरेको हो ।
दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद साह र उनकी पत्नी शुसिला कुमारी साहलाई समेत दुई करोड ३८ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले वैशाख, २०७३ मा आरोप लगाएको थियो ।
पुस, २०७५ मा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो ।
उनले गैरकानूनी रुपमा ६८ लाख २४ हजार रुपैयाँ आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।
उनी दुग्ध विकास संस्थानको विभिन्न आयोजना प्रमुख भई अन्तिममा काठमाडौंमा दुग्ध विकास संस्थानको प्रवन्धक बनेका थिए । सर्वोच्चले साढे सात वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो ।















