काठमाडौं, असार २८ । ठमेल पर्यटन विकास परिषद् (TTDC) को हिजो असार २७ गते सम्पन्न निर्वाचनबाट राजुमान डंगोल अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँसँगै विभिन्न पदाधिकारी तथा कार्यसमिति सदस्यहरू पनि निर्वाचित भएका छन्।
निर्वाचन सम्पन्न भएपछि नवनिर्वाचित अध्यक्ष डंगोलले ठमेललाई अझ व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीहरूको हकहित संरक्षण तथा ठमेल क्षेत्रको समग्र विकासलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाइने बताउनुभयो।
उहाँले पर्यटन व्यवसायी, स्थानीय समुदाय तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै ठमेलको पूर्वाधार सुधार, सरसफाइ, सुरक्षा व्यवस्थापन र पर्यटनमैत्री वातावरण निर्माणमा विशेष जोड दिइने उल्लेख गर्नुभयो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पनि परिषद्लाई अझ सक्रिय, प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउँदै ठमेलको समग्र विकास र व्यवसायीको हितमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ठमेल पर्यटन विकास परिषद् काठमाडौंको प्रमुख पर्यटन क्षेत्र ठमेलमा पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको अधिकार संरक्षण तथा क्षेत्रको दिगो विकासका लागि क्रियाशील संस्था हो।












