जयपुर । सम्पत्ति हडप्ने नियतले २३ वर्षीया एक भारतीय युवतीले आफ्नै विधवा आमाको हत्या गर्न ७ लाख रुपैयाँमा ‘कन्ट्याक्ट किलर’ भाडामा लिएको खुलासा भएको छ । ती युवतीले सम्पत्तिको साथै बाआमाको मृत्युपछि सन्तानले पाउने सरकारी जागिरको लोभमा आमाको हत्या गरेकी हुन् ।
आयुषी शर्मा नाम गरेकी ती युवतीले यो क्रूर हत्यालाई एउटा सामान्य सडक दुर्घटना जस्तो देखाउन खोजेकी थिइन् । तर, उनले प्रहरीको अनुसन्धान छल्न सकिनन् । आमाको हत्या आरोपमा पक्राउ परिन् ।
प्रहरीका अनुसार विगत तीन महिनादेखि यो हत्याको योजना बनाइएको थियो । जुलाई ३ का दिन भारतको जयपुरमा ४५ वर्षीया नीरज शर्मालाई १३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको एउटा एसयूभीले ठक्कर दिएको थियो । तीव्र गतिको सवारीले किल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यस घटनामा पुलिसले नीरजकी छोरी आयुषी, उनका ठूलोबुबा मोहन स्वरूप ९५६०, सुपाडी लिएर हत्या गर्ने हेमन्त शर्मा ९२०० र अन्य चार जना सहयोगीलाई पक्राउ गरेको छ । आयुषीका दाजु बलराम भने अहिले फरार छन् ।
नीरजका श्रीमान् विजय कुमार शर्मा अदालतमा कार्यरत थिए । एक वर्षअघि उनको मृत्यु भयो । विजयको मृत्यु भएपछि उनकी पत्नी नीरजले सोही ठाउँमा सरकारी जागिर पाएकी थिइन् । तर, छोरी आयुषी भने त्यो जागिर आफूले पाउनुपर्ने दाबी गर्थिन् । ‘आमाले मेरो भविष्य बर्बाद गरिन्’ भन्दै आयुषीले आफ्नै आमाको ज्यान लिने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आयुषी र उनका आफन्तहरूले नीरजलाई मार्न धेरै विकल्पबारे सोचेका थिए । सुरुमा भाडाको गाडी प्रयोग गरेर मार्न खोज्दा असफल भए । यसपछि उनीहरूले ७ लाख रुपैयाँ खर्च गरेर व्यवसायिक हत्यारा हेमन्तलाई यो कृत्य सुम्पिए । नीरजलाई मार्नुअघि उनीहरूले करिब एक महिनासम्म उनको रेकी गरेका थिए ।
नीरजलाई आफ्नी छोरीको खतरनाक चालको केही आभास भइसकेको थियो । उनले आफ्ना दाजु राकेशलाई आयुषी निकै खतरनाक बाटोमा लागिरहेको भन्दै आफ्नो ज्यानको सुरक्षाबारे चिन्ता व्यक्त गरेकी थिइन् ।
जुलाई ३ को दिउँसो करिब पौने ५ बजे नीरज आफ्ना अपाङ्गता भएका छोरालाई कोचिङ क्लास छोडेर घर फर्किँदै थिइन् । त्यही बेला हेमन्तका सहयोगीले चलाएको तीव्र गतिको एसयूभीले उनलाई ठक्कर दियो । ठक्कर यति शक्तिशाली थियो कि नीरज सडकबाट करिब १०० फिट टाढा उछिट्टिएकी थिइन् । सिसिटिभी फुटेजमा यो बीभत्स ठक्कर र त्यसपछि गाडी भागेको दृश्य कैद भएको छ ।
नीरजको मृत्युुपछि उनको दाजु राकेशले दिएको उजुरीका आधारमा पुलिसले अनुसन्धान गर्दा आफ्नै छोरी र नातेदारहरूले सम्पत्ति र जागिरका लागि यो सबै प्रपञ्च रचेको रहस्य खुलेको हो ।
साभारः नेपाल प्रेस












