काठमाडौं । गायक यम बराल अत्यधिक ढाड दुखाईपछि उपचारका निम्ति त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । उनलाई गणेशमान भवनअन्तर्गत अर्थोपेडिक वार्डमा भर्ना गरिएको छ ।

गायक बरालका भतिजा सञ्जय बरालका अनुसार एक महिनादेखिको उपचार र विभिन्न परीक्षणपछि उनमा मल्टिपल माइलोमाको समस्या देखिएको छ । यो एक किसिमको क्यान्सर हो, जुन प्लाज्मा सेल भनिने सेतो रक्त कोषको प्रकारमा बन्छ।

यो रोगमा स्वस्थ्य प्लाज्मा कोषहरूले एन्टिबडी भनिने प्रोटिन बनाएर संक्रमणसँग लड्न मद्दत गर्छन्। एन्टिबडीहरूले कीटाणुहरू फेला पार्छन् र आक्रमण गर्छन्।

मल्टिपल माइलोमामा, क्यान्सरयुक्त प्लाज्मा कोषहरू हड्डीको नरम पदार्थ ९मज्जा० मा निर्माण हुन्छन्। त्यहाँ क्यान्सर कोषहरूले स्वस्थ रक्त कोषहरूलाई बाहिर निकाल्छन्।

भतिज सञ्जयका अनुसार एक प्रकारको रक्त क्यान्सर नै भए पनि अनुमान गरिएजस्तो भयावह स्थित छैन । अत्यधिक दुखाईका कारण डाक्टरले हिंडडुल गर्न दिएका छैनन् ।

तर, गायक बराल राम्रोसँग बोल्ने र सबै कुरा सहज रूपमा स्मरण गर्ने स्थितिमा रहेको उनले बताए ।मल्टिपल माइलोमामा पत्ता लागेपछि दुई साइकल केमो चढाइसकिएको उनले बताए । केमो थेरापीपछि शरीर गल्ने र थकित देखिने जस्ता लक्षण उनमा नदेखिएको सञ्जयले बताए ।

‘उपचार समयमै शुरू भइसकेको कारण निराश हुनुपर्ने कुनै कारण छैन, उनले भने,‘काकालाई छिट्टै सुस्वस्थ्य देख्न पाइन्छ ।’
साभारः नेपाल प्रेस