तनहुँ, ३२ असार २०८३ बिहीबार । व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिकमा सम्पादित कार्यक्रम, विकास योजना, सुशासन तथा सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरेको छ। व्यास-१ भादगाउँस्थित दरै समाजको भवनमा आयोजित कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दराईले सभापतित्वमा भएको थ थियो भने नगर प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख जवाफकर्ताका रूपमा सहभागी थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले तेस्रो चौमासिक अवधिमा योजना तथा पूर्वाधार विकास, कृषि, पशुपन्छी तथा सहकारी, उद्योग, पर्यटन, श्रम तथा रोजगार प्रवर्द्धन, शिक्षा, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाजकल्याण, स्वास्थ्य तथा जनसङ्ख्या, आर्थिक प्रशासन, राजस्व व्यवस्थापन, आन्तरिक लेखा परीक्षण तथा जनशक्ति व्यवस्थापन, सूचना प्रविधिलगायतशाखाले सम्पादन गरेका कार्यक्रम तथा प्रगति विवरण सार्वजनिक गोका थिए ।
प्रमुख प्रशासकीय अधिकृत लम्सालले संघीय बजेट कटौतीका कारण विनियोजित कार्यक्रम कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको, ठेक्कापट्टा भइसकेका योजनामा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अपेक्षित नतिजा आउन ढिलाइ भएको र फोहोर व्यवस्थापनका लागि नगरपालिकासँग आफ्नै जग्गा तथा भवनको अभाव रहेको जानकारी दिए। संघीय सरकारले स्वीकृत गरेको दरबन्दीभन्दा बाहिर रहेका अस्थायी तथा करार कर्मचारी व्यवस्थापनका क्रममा दायित्व सिर्जना भएकाले विकास निर्माण र सेवा प्रवाहमा थप चुनौती उत्पन्न भएको तथा जेन्जी आन्देलनका क्रममा नगरपालिकाको भवन गाडी तथा १३ नम्बर वडा कार्यालयको भवन गरेर १ करोड ७८ लाख ४१ हजार ६७६ बराबरको क्षति हुन पुगेको लम्सालले जानकारी गराए ।
उठाइएका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख बैकुण्ठ न्यौपानेले नागरिकका सुझावलाई आगामी योजना तथा नीति निर्माणमा समेटेर नगरपालिका थप उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । साथै विकास निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने दिशामा नगरपालिका केन्द्रित रहेको उल्लेख गरे ।
उप प्रमुख इन्दिरा दरैले नागरिकबाट आएका गुनासो र सुझावलाई सम्बोधन गर्दै सुशासन, पारदर्शिता र विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरिन् । कार्यक्रममा वडा नं. १, २, ३ सहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय नागरिकहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, सरसफाइ, दिगो आर्थिक विकास, सेवा प्रवाहको प्रभावकारिता तथा विकास योजनाको कार्यान्वयनलगायत विषयमा प्रश्न तथा सुझाव राखेका थिए।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको सहजीकरण सभापति डिपी अधिकारी द्वारा संञ्चाली सार्वजनिक सुनुवाइमा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी, सरोकारवाला निकाय तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा तेस्रो चौमासिक अवधिमा नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम, विकास निर्माण, सुशासन तथा सार्वजनिक सेवा प्रवाहको समीक्षा गर्दै नागरिकको प्रत्यक्ष सहभागितामार्फत जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।









