धैर्यताको बाँध

  • ख-
  • ख+

२००७ सालमा जहाँनिया राणा शासनको अन्त्य हुदा नेपालीको मुहारमा खुशीको संचार भएको थियो अब त केहि हुन्छ कि जीवन परिवर्तन हुन्छ कि भन्ने आशा थियो । प्रजातन्त्रमा पनि सत्ताको उन्माद, आफु आफु बिचमा काटाकाटको अवस्थाले राजा महेन्द्रलाई एकदलिय व्यवस्था लाद्ने अवसर दिन पुग्यो । नेपालको माटो सुहाउदो व्यवस्था पंचायती व्यवस्थाले पनि खासै नेपालीको जीवनमा परिवर्तन ल्याउन सकेन जनता बिचमा भित्रभित्र धेरै असन्तुष्टिहरुले जन्म लिईरहे अन्तत पुनः प्रजातन्त्रको पुर्नस्थापना भयो । अब त पक्कै पनि आफ्नो जीवनमा परिवर्तन आउनेछ, रोजगारीको लागि बिदेश जानुपर्नेछैन, सुख दुःख आफ्नै घरमा बसेर खान पाईनेछ भनेका नेपालीहरुको दशा झन् झन् शुरु भए । विकासका नाममा ठाँउ कुठाँउमा कति आवश्यकता छ विचारै नगरिकन आफ्ना कार्यकर्तालाई काम दिन बाटो खनिए, गाँउघरका खतियोग्य जमिन घडेरी बने, छोरो कमाउन विदेश हिड्यो, बुहारी केटाकेटी बोकेर शहर झरी , बुढा आमाबुबा छोरा बुहारी फर्केलान् भनेर आशा गर्ने र गाँउ उजाड बनाउनेभन्दा खासै प्रगति केहि भएन । हिजो सुन फल्ने फाँटहरु या त प्लटिगंका लागि योग्य बने या त बगर बने । आफ्नै बारीमा धान फलाएर खान पुग्ने गाँउको किसान अरवमा छोरोले बगाएको पसिनासग भैरहवाको चामल साट्न पुग्यो । मरुभुमीमा बगाएको पसिनाको कमाई चामल, टिभी, मोवाईल, लुगाफाटोमा उतै नफर्के पनि नेपाल बाहिरिए ।
प्रजातन्त्रका हिमायतिहरुले एकदलिय व्यवस्थाप्रतिको घृणाले गर्दा होला राजा महेन्द्रले स्थापना गरेका कलकारखाना तथा संस्थानहरु कौडीको भाउमा लिलाम र बिक्री गरिए । त्यहि कलकारखानामा काम गरेर बाँचुला भनेको नेपाली युवा मलेसिया र खाडिको तातोमा पसिना बगाउन पुग्यो । शिशु प्रजातन्त्र हुर्कदै गर्दा अधिकांश नेताका काठमाण्डौमा महलहरु त बने जनताको झुपडी झन् झन् दारुण बन्दै गयो । नदिनाला केहि रहेनन् । आफ्नैे देशका नदिनाला पनि विदेशीको पाँउमा चढिए । त्यहि मौकामा नेपालमा फेरि अर्को बिद्रोहको ज्वाला बल्यो माओवादी जनयुद्धको नाममा । तास खेल्नेलाई, जाडरक्सि खानेलाई, गाँउका चोर फटाहाहरुलाई बिछट्टैसग भाटे कारवाही गरियो । जनताको मुक्तिको लागि गरिएको आन्दोलनमा १७ हजार भन्दा बढि नेपालीको आहुति चढाईयो, हजारौ अपागं भए, हजारौ बेपत्ता भए त्यस्तै हुदाहुदै राजा बिरेन्द्रको परिवारको अकल्पनिय घटनामा मृत्यु भयो । राजा बिरेन्द्रका माहिला भाई ज्ञानेन्द्र सत्ता आए । उनी सत्तामा आएपछि जनताले एकदलिय व्यवस्थाको अनुभुत गर्न थाले । राजा ज्ञानेन्द्र प्रतिको जनताको वितृष्णालाई शुरुवातदेखि नै संविधानसभाको माग राख्ने माओवादीले क्याच गर्न सफल भए र ज्ञानेन्द्रको पेलाईबाट आत्तिएका अन्य दलहरुलाई पनि उनीहरुले एकैठाँउलाई ल्याउन सफल भए र ऐतिहासिक जनआन्दोलन २०६३ । ६३ अभुतपूर्व रुपमा सफल भयो । संविधानसभाको चुनावसगै शाहवंशिय राजतन्त्रको पनि अन्त्य भयो । नेपाल धर्म निरपेक्ष राष्ट्र कायम भयो । हुन त विदेशमा गरिएको १२ बुँदे समझदारी, राजसंस्थाको अन्त्य र हिन्दु राष्ट्र नेपाल बनाउनुलाई धेरैले विदेशीको ईशारामा गरिएको भनेपनि नेपालीले सहजै स्विकारे ।
आहा सबै कुरा फालियो अब त जनताको छोराले जनताको छोरालाई शासन गर्नेछ अब त मुलुक स्वर्ग बन्नेछ भन्ने फेरि नेपालीले नमिठो सपना देख्न पुगे तर धेरै राजनितिक दलले सोचेको चाहेको राजतन्त्रको अन्त्य, नेपाल धर्म निरपेक्ष राष्ट्र हुदा पनि जनताको जीवनमा खासै परिवर्तन आएको छैन बरु थपिएको ऋणको भारि । मुलुक सधै झै अझै पनि रेमिट्यान्सले धानिएको छ । आज पनि हामी दैनिक सयौ युवा अरवको मरुभुभीमा पठाउछौ र कतिलाई कफिनको बाकसमा रिसिभ गर्छौ, उनीहरुको रगत चुसेर हामी सगर्व जनप्रतिनिधि भन्दै तलब भत्ता बुझ्दैै हाजमोला खादै मज्जासग पचाईरहका छौ । नेपालको संविधानमा मौलिक हक अधिकारका टन्न कुराहरु छन् शिक्षा, स्वस्थ्य, खानेपानी अनेकन कुरा जनताको मौलिक हक भनिएका छन् , कागजी रुपमा बिकासको खाका धेरै देखिएका छन् नेताहरुको कुरा सुन्दा यस्तो लाग्छ देश अब स्वर्ग भईसकको छ नभएपनि अब केहि दिनमा हुन्छ तर महान जनयुद्ध लडेका धेरै योद्धाको जीउको गोली अझै झिकीएको छैन, लोकतन्त्रको लागि आजिवन लड्ने योद्धाको आँखाको आशु अझै पुछिएको छैन, साहुसग ऋण काँढेर अरब गएको छोरोकोे लाश ल्याउन नसकेर आमाबुवा रोएको रोयै छन् । रेल आउला, पानी जहाज आउला, घरघरमा ग्याँस, सडक, बिजुली, पानीको धारो आउला तिनले मात्र बाँच्न सकिएला र ? खोई आफ्नै देशमा पसिना बगाएर आमाबुबा, आफ्नो परिवारसग बसेर खाने दिन कहिले आँउला ? देशमा नै कलकारखाना खुले पो आमाबाबुलाई छोराछोरी विदेश गएर कफिनको बाक्सामा फर्किन्छन् सग्लै फर्किन्छन् भन्ने चिन्ता हुन्थेन होला ? यहि देशका आर्युवेदिक औषधीहरु प्रशोधन गरे पो सस्तोमा किनेर अलि बाँच्न पाईन्थ्यो होला, नाममात्रको कृषि प्रधान देशमा धान काट्ने बेलामा होईन धान रोप्ने र धान गोड्ने बेला मल पाईए पो ब्रम्हालाई गुहार्नु पर्थेन होला ? कृषिप्रधान देशलाई कृषिको लागि उपभोग गर्न पाए पो जमिन हुनुको मजा हुन्थ्यो होला ? प्राविधिक शिक्षा लिन पाए पो बेरोजगार बस्नु परे पनि हातको सिप प्रयोग गर्न पाईथ्यो र बाँचिथ्यो होला ? बोल्न पाईएको छ । खै कसरी सोधुँ मन नपरेकोलाई मज्जासग गाली गर्न पाईएको छ यहि मात्र हो त लोकतन्त्र ? कि हिजो हात्तिछाप चप्पल लगाएर सिंहदरवार छिर्नेहरुको महल हेरेर रमाउनु पो हो लोकतन्त्र ? दिनानुदिन जनता रनभुल्ल परिरहेका छन् । जनता नेता तथा तिनका आसेपासेहरुले काठमाण्डौमा ठुला ठुला महल बनाउनु नै लोकतन्त्र रहेछ कि भनेर मन बुझाईरहेका छन् ।
राणाशासनदेखि आजसम्मका नेताहरुलाई नियाल्दा जनताको दैनिकी र जीवनसग जोडिएका बिषयमा दुरगामी निर्णय गर्ने नेताहरुको सारै कमि खट्किएको छ । सार्वजनिक खपत र प्रजातन्त्र प्राप्ति पश्चात च्याउसरि उम्रिएका मिडियामा छाउन जनतालाई अनेक सपना बाड्ने नेताभन्दा कार्यान्वयन गर्न सक्ने नेताको अभाव देखिएको छ । देश बनाउछु भनेर पटक पटक सत्तामा पुग्नेहरुले आफु र आफ्ना आसेपासेहरुलाई मात्र बनाएको तितो यर्थाथले जनताको धैर्यता टुट्ने क्रममा पुगिसकेको छ ।
प्रजातन्त्र र लोकतन्त्र प्राप्ति पश्चात ठुला ठुला काण्डहरु माथि प्रश्न उठे, मदन भण्डारी र जीवराज जीप दुर्घटना वा हत्या काण्ड, राजदरवार हत्याकाण्ड, धमिजा काण्ड, वाईडवडि काण्ड, ७० करोड काण्ड लगायतका दर्जनौ काण्ड तर कांग्रेस होस् वा कम्युनिष्ट कसैले पनि ति काण्डहरुको न त निष्पक्ष छानविन गरे न त जनतालाई जवाफ दिने आँट नै गरे । आज हरेक अर्थमन्त्री फेरिए पिच्छे नेपाली जनताको थाप्लोमा वैदेशिक ऋणको भार थपिएको थपिएै छ, जनताको मनभित्र असन्तुष्टिको बादल मडारिरहेको छ यतिबेला पद र सत्ताको लागि भन्दा पनि सबै पार्टीका नेताहरुले जनताको मन बुझाउन जरुरी भएको छ नत्र जहाँनिया राणा शासन, नेपालको माटो र हावापानी सुहाउदो भनिएर प्रचार प्रसार गरिएको पंचायती व्यवस्था र २०५ बर्षसम्म नेपालमा जरो गाडेको शाहवंशिय राजतन्त्र ढालेका जनताले ति नेता पार्टीहरुलाई धुलो नचटाउलान् भन्न सकिदैन किनकी अति भए पछि खति हुन्छ भन्ने नेपाली उखानै छ । लोकतन्त्र त रहिरहन्छ तर आफुलाई सर्वेसर्वा मान्ने नेताजीहरुको पार्टीको हविगत हिजो प्रजापरिषद् नहोला भन्न सकिदैन त्यतिबेला नेपाली जनताको करबाट तलबभत्ता बुझेर निर्माण गरेको ति काठमाण्डौका महलहरुको जग नउधारिएला भन्न सकिदैन किनकी तपाईहरु नै भननुहुन्छ जनता जागे सब् सम्भव छ । नारायणहिटीको दरवारबाट लखेटिएका ज्ञानेन्द्रले त नार्गाजुनमा बास पाएका थिए तर अब जनता जागे भने तपाईहरुले बाँस पाउने कुरामा चाँहि प्रशस्त शंका मान्ने ठाँउ देखिन्छ त्यसैले बेलैमा चेतना भया किनकी २०४६ सालपछिको सबै पार्टीका नेताहरुको रिर्पोट कार्ड कामै नलाग्ने देखिएको छ अझै मौका छ सच्चिनुस् , गाईगुई बजारमा हल्ला चल्दै छ है फलानोभन्दा पनि कामै नलाग्ने भए है यी नेताहरु भनेर ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्