तनहूँमा नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको घट्दो लोकप्रियता

  • ख-
  • ख+

वरिष्ठ नेता पौडेलले म प्रधानमन्त्री बन्छु भनेर भाषण गर्दै हिड्दा तनहूँका केन्द्रीय स्तरका एकजना नेताले पनि आजसम्म तनहूँको छोरो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेपाली कांग्रेसले अबको निर्वाचनपछि प्रधानमन्त्री बनाउनुपर्छ भनेर अहिलेसम्म बोल्नु भएको छैन किनकी सबैको मनमा छ तनहूँ क्षेत्र नं. १ अब वरिष्ठ नेता पौडेलले मलाई छोड्नुपर्छ ।

तनहूँ जिल्ला ३ वटा निर्वाचन क्षेत्रमा विभाजित हुँदा होस् वा २ वटा निर्वाचन क्षेत्रमा विभाजन होस् तनहूँबाट नेपाली कांग्रेसको तर्फबाट केन्द्रमा प्रतिनिधित्व गरिरहनुभएको छ । प्रजातन्त्र प्राप्ति पश्चातका निर्वाचनहरुमा अत्याधिक मतका साथ विजयी हुने वरिष्ठ नेता पौडेलको लोकप्रियता २०७४ को निर्वाचनमा ह्वात्तै घटेको सबैले देखेका छन् । वरिष्ठ नेता पौडेलको लोकप्रियता घट्नुमा २०४८ सालदेखि सत्तामा बसिरहदा र सत्ता बाहिर भएरपनि पावरफुल भईरहदा जिल्लामा विकास निर्माणका काममा ध्यान नदिनु, जिल्लावासीलाई रोजगारी दिलाउने काममा पहल नगर्नु , जिल्लाका सिमित नेताहरुको चंगुलमा रहनु , जिल्लामा आफ्नै पार्टीमा असन्तुष्टिका स्वरलाई नजरअन्दाज गर्दै राष्ट्रिय नेता बन्ने ध्याउन्नमा रहनु , पार्टीको लागि ज्यान दिन तम्सने साना कार्यकर्ता हुन् वा त्यागी कार्यकर्ता हुन् कसैको सरसल्लाह नलिनु नै प्रमुख कारण रहेका छन् ।

गोर्वद्धन शर्मासगको टसलले गर्दा पोखरेल परिवारलाई अगाडि बढाउने कुरामा पौडेल कहिल्यै उदार हुन सक्नुभएको छैन अर्थात पोखरेल परिवारका सदस्यहरु विभिन्न पदहरुमा पुग्नुमा वरिष्ठ नेता पौडेलको अलिकति पनि योगदान रहेको छैन भने गोविन्दराज जोशीसगको दुश्मनीलाई सल्ट्याउने चाहना नदेखाउदा बलियो हुदाँ हुदै तनहूँ कांग्रेस छिन्नभिन्न बनिरहेको छ । त्यसो त कम्युनिष्टहरुको गढ तत्कालिन तनहूँ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको झण्डा गाढ्न सफल त्यतिवेला आशा गरिएका नेता अमरराज कैनी पनि पौडेलको कोपभाजनको शिकार बनेको कहि कतै लुकेको छैन । केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल धुर्व वाग्ले पनि यहाँसम्म पुग्न पौडेलदाईले कहिल्यै साथ र सहयोग नदिएको हुनाले ति नामहरुले पनि कहिल्यै कतै हामी वरिष्ठ नेता पौडेलका मान्छे हौ भनेर कहि कतै मुख खोल्ने गर्नुभएको छैन ।
आफ्नो घट्दो लोकप्रियतालाई आत्मासात गरेको कारणले हुन सक्छ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले आँउदो निर्वाचनमा साथ पाउने आशले स्थानिय निर्वाचन २०७९ को समाप्ति पश्चात व्यास नगरपालिकामा नेपाली कांग्रेसको प्रचण्ड बहुमत हुदाँहुदै पनि नेकपा एकिकृत समाजवादी पार्टीका व्यक्तिलाई कार्यपालिका सदस्यमा ल्याउनको जोर गर्नु भयो भने जिल्ला समन्वय समिति तनहूँमा कांग्रेसको सुविधाजनक बहुमत हुदाँहुदै पनि उपप्रमुख सहित अन्य २ पद नेकपा माओवादी केन्द्रलाई दिनुले पनि धेरैलाई वरिष्ठ नेता पौडेलले आफ्नो खुट्टीको बल नापिसकेको रुपमा व्याख्या गरेका छन् । वरिष्ठ नेता पौडेलको यो कदमले जिल्ला समन्वय समितिमा जाँउला भनेर खुट्टा उकाल्नेहरु चिया पसलतिर चुनाव त आवोस् न भन्दै गफिएको सबैले देखेकै छन् ।
समग्रमा हेर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यतिवेला आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भन्दा अरु पार्टीका नेता तथा कार्यकर्ताहरुलाई च्याप्ने गरेको कारण पनि दिनप्रतिदिन जिल्लामा उहाँको लोकप्रियता गिर्दो रहेको स्वयं कांग्रेसी नेताहरु बताउदै आईरहेका छन् ।
”२०४८ सालदेखि बोक्यौ आजसम्म कहि कतै ल बाबु हो तिमीहरुलाई मैले के गर्नुपर्छ , पदको लागि गर्नुपर्छ कि तिमीहरुको गाउँठाउँको बिकास निर्माणको लागि गर्नुपर्छ कि ? उहा (रामचन्द्र पौडेल) ले कहिल्यै सोध्नुभएन, आफु सभामुखदेखि उपप्रधानमन्त्री, विभिन्न मन्त्री हुनुभयो, जिल्लामा त्यत्रा त्यागी, प्रतिभावान मानिसहरु छन् कसैलाई कतै ठाउँमा पुर्याउन पहल गर्नुभएन, अनि कसरी हुन सकिन्छ त जिल्लामा लोकप्रिय ? अब हुँदा हुदा उहाँको छोरोछोरी पुस्ताको हामी ६० बर्ष पुग्न लागियो अझै तनहूँबाटमै चुनाव लड्छु भन्नुहुन्छ अनि त लोकप्रियताको ग्राफ त झरिहाल्छ नि , हामीसग पनि देश बनाउने भिजन छ, राजनीतिमा लागेर बुढो भईयो हाम्रो पालो कहिले त ?” पिडा मिश्रित स्वरमा यसपटकको निर्वाचनमा टिकट पाउने आशामा बस्नुभएका एकजना कांग्रेसका नेता भन्नुहुन्छ ।
”आफ्नो घरमा आगो लागि रहेको छ , आफ्नो घरका साथीहरु आगोको रापमा पिल्सिरहेका छन् , आफ्नो घरको आगो निभाउन छोडेर आफ्ना घरका सदस्यलाई वास्तापस्ता नगरिकन ढुँसी लागेर मक्रालिएको घरमा ओत लाग्न जाने वरिष्ठ नेता पौडेलको लोकप्रियता कसरी बढ्छ त ?” रामचन्द्र पौडेलको लोकप्रियता किन घटिरहको छ भन्ने प्रश्नमा जोशी कांग्रेसका एकजना नेताको भनाई रहेको छ ।
जुन कुराको पछिल्लो उदाहरण वरिष्ठ नेता पौडेलले ”म प्रधानमन्त्री बन्छु” भनेर भाषण गर्दै हिड्दा तनहूँका केन्द्रीय स्तरका एकजना नेताले पनि आजसम्म तनहूँको छोरो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेपाली कांग्रेसले अबको निर्वाचनपछि प्रधानमन्त्री बनाउनुपर्छ भनेर अहिलेसम्म बोल्न सक्नुभएको छैन किनकी सबैको मनमा छ ”अब तनहूँ क्षेत्र नं. १ मा वरिष्ठ नेता पौडेलको होईन पालो मेरो हो ” त्यसैले त वरिष्ठ नेता पौडेल जिल्लाबाट सर्वसम्मत सिफारिस हुन सक्नुभएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्