औषधी व्यवसायी संघ तनहूँद्धारा उज्यालो घरलाई फर्निचर सहयोग

  • ख-
  • ख+

तनहूँ । नेपाल औषधी व्यवसायी संघको ५०औँ स्थापना दिवसको अवसरमा औषधी व्यवसायी संघ तनहूँले उज्यालो घरलाई आइतबार फर्निचर सहयोग गरेको छ । देशव्यापि रुपमा संघको स्थापना दिवस मनाइरहदा जिल्ला शाखा तनहूँले पनि व्यास १० बैरेनी स्थित उज्यालो घरलाई सहयोग गरि स्थापना दिवस मनाएको हो । संघले बालबालिकाको कपडा र किताब राख्न मिल्ने काठको २ थान ¥याक हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरि उज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ ।
सोही अवसरमा औषधी व्यवसायीहरुले उज्यालो घरका बालबालिकाको स्वास्थ्य परिक्षण, औषधी लगायतका सेवा निशुल्क उपलब्ध गराउने सामूहिक प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश सदस्य दमोदर भण्डारीले उज्यालो घरमा आश्रित बालबालिकाको आवश्यकता र माग अनुसार नै सहयोग उपलब्ध गराएको बताए । हरेक वर्ष संघले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक काम गर्दै आएको स्मरण गर्दै उनले सहयोग निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरे । साथै उनले प्राप्त सहयोगको सदुपयोग र संरक्षण गर्न आग्रह गरे ।
नीजि अस्पताल एसोसिएसन तनहुँका अध्यक्ष चुडामणि दाहलले सहारा विहीन बालबालिकालाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । साथै आफुहरु आवद्ध रहेका सबै संघसंस्थाबाट सहयोगको पहल गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा औषधी व्यवसायी एवम् उद्योग बाणिज्य संघ दमौली बजार इकाईका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बालबालिकाको स्वास्थ्य उपचारमा संघले सहयोग गर्ने बताए । साथै अन्य ठाउँबाट सहयोग प्राप्त हुने वातावरण बनाउन पनि लागिपर्ने बताए ।
नेपाल औषधी व्यवसायी संघ तनहुँका सदस्य रामचन्द्र अधिकारीले बालबालिकालाई आश्रय दिएर उज्यालो घरले उत्कृष्ट कार्य गरेको बताए । उज्यालो घरको सुख दुखमा आफु बिगतबाटै जोडिएको पनि उनले चर्चा गरे ।
संघका अध्यक्ष दयाराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दैै उज्यालो घरका अध्यक्ष घिमिरेले सहयोगप्रति आभार व्यक्त गरे । विभिन्न दाताहरुको साथले नै बालबालिकाको उज्यालो भविष्य निर्माण अभियानमा आफु लागि परेको उनले बताए । ४ वर्ष अघि सञ्चालनमा आएको उज्यालो घरमा हाल ७ जना बालबालिका आश्रित छन् ।
कार्यक्रम नेपाल औषधी व्यवसायी संघका सचिव ऋषिकान्त गिरीले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्